काठमाडौँ। श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सो बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री दाहालले गर्नेछन् । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ।
वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम सो बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने जनाइएको छ ।
सो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ।
बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यस प्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुदैछ। बैठक सोमवार र मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रतिक्रिया