काठमाडौ । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।
फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका ट्रम्प दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन् ।
लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिइने कानुनी प्रक्रिया अनुरुप अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको पनि तिनै अभियुक्तको झै फोटो लिएर रिहा गरिुउको छ । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने छ ।
कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनि निक्कै रिसाएको देखिन्छन् । उनले आफू दोषी नरहेको दाबी गरेका छन् । यद्यपि उनिमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लागेको छ ।
जर्जियामा उनिमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।
यसअघि उनिमाथि एक अभिनेत्रीसंगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग पनि लगाइएको छ ।
सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ । रासस
प्रतिक्रिया