काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको हो ।
कार्कीप्रति सम्मान प्रकट गर्दै ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, शुक्रबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहका डा. कार्कीको बुधबार निधन भएको थियो ।
प्रतिक्रिया