देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुमरीमा परेको लोकतन्त्र


सर्वविदित छ वर्षायाममा बाढी आउँदा नदीको पानी धमिलो हुन्छ । पानीको तीव्र बहावसँगै कतिपय स्थानहरू भुमरी देखा गर्छ । लामै अवधिसम्म बगाएर ल्याइएका पानी मा तैरिने निर्जीव वस्तुहरू जस्तै काठ, दाउरा, सिनो आदि भुमरीमा परेपछि डुब्ने उकासिने गरी रहन्छन् । मानिसको हकमा त्यस्तो भुमरीमा फसेपछि दक्ष पौडीबाजलाई पनि उम्कन हम्मेहम्मे पर्छ । धमिलो पानीको भुमरीबाट उम्कन जो कोहीलाई पनि असम्भव प्रायः हुन्छ । देशको राजनीति धमिलिएको नदीमा रहेको भुमरी जस्तै हुदैछ । यस भुमरीबाट उम्कन अथवा राजनैतिक निकासका निमित्त दिन दुई बाधक छन् । प्रथम शीर्षस्थ नेता तथा दोस्रो व्याप्त भ्रष्टाचार ।

समकालीन स्थापित शीर्षस्थ नेताहरूले प्रदर्शन गरेका दुई विशेष गुणहरू हुन् सत्ता प्राप्तिलाई नै अन्तिम लक्ष्य ठहर गर्ने । दोस्रो सत्ता प्राप्तिपछि त्यसमा टिक्नका निमित्त पनि अन्तिम अवस्थासम्म पनि मरिहत्ते गर्ने । लेकाली खरीजुगाले पेट भरिएपछि पशुको शरीरबाट पन्छिन्छ । नेताले भने सत्ता त्याग्न सक्दै सक्दैनन् । आफू तथा आफन्त समर्थकलाई निर्वाचित हुन अत्यधिक धेरै खर्च जुटाउनुपर्ने हुन्छ । त्यसो त सांसदलाई अपहरण गर्न समेत उनीहरू नचुकेको ट्रेक रेकर्ड पनि छ । त्यस्ता कार्यलाई झनै धेरै खर्चको आवश्यकता पर्छ । आफन्तलाई पोस्न, निरन्तर समर्थन प्राप्त गर्न, बिकाउमा भएकालाई खरिद गर्नेदेखि विपक्षलाई थामथुम पार्न सकेको खण्डमा हो सत्तामा टिकिरहने । यावत् कार्य सम्पादनका निमित्त अतिरिक्त खर्चको आवश्यकता पर्छ । उक्त खर्च जुटाउने क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष भ्रष्टाचारमा उनीहरू संलग्न हुने गर्छन् । भ्रष्टाचारले ईष्र्या तथा लोभलाई मलजल प्रदान गर्छ । पैसाको भरमा सबै थोक हुँदैन । अति भएपछि आफन्त पनि अर्को हुन पुग्छन् । बिकाउका त जसले बढी मूल्य दिन सक्छ उसैको पोल्टामा गई नै हाल्छन् । सत्ता बहिर्गमनको कारक भ्रष्टाचार नै हुनु पर्दैन ।

समकालीन ‘राष्ट्रवादी’ नेतालाई सत्ता प्राप्तिका निमित्त सांसदहरूको समर्थन अथवा तिनको विश्वास अपर्याप्त हुने रहेछ भन्ने खुलासा हुँदैछ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्राप्त भएको विदेशी सहयोगको खुलासा गरी दिनुभयो । यसपूर्व एकै महिनाको अवधिमा दुईदुई पटक संसद्मा अत्यधिक बहुमतले दिएको विश्वासकै कारणले गर्दा उहाँ प्रधानमन्त्री बन्न सफल हुनु भएको हो भन्ने जनविश्वास थियो । भलै उहाँले अख्तियार गरेको शैली सन् १९६७ मा हरियाना राज्य (भारतको) मा घटेको ‘आय राम गय राम’ किन नहोस् । निर्वाचन २०७९ मा सक्रिय रहेको गठबन्धनलाई निर्वाचन परिणाम प्रकाशन हुँदा रातारात लात मारेर दाहाल खड्गप्रसादको शरणमा पुगे । लगत्तै ओली दाहाल जोडीले नयाँ गठबन्धन निर्माण गरे । प्रधानमन्त्री पद प्रथम ३० महिना दाहालले प्राप्त गर्ने दोस्रो ३० महिना ओलीले सम्झौता पनि भयो । उक्त सहमति अनुरूप संसद्को दोस्रो ठूलो दल एमालेको समर्थनमा तेस्रो ठूलो दल नेता दाहाल तेस्रो पटक राष्ट्रको प्रधानमन्त्री नियुक्त भए । एक उच्चस्तरीय राजनैतिक संयन्त्र एमाले अध्यक्ष खड्गप्रसाद ओलीको संयोजकत्वमा निर्माण पनि गरियो । संसद्को सबैभन्दा ठलो दल नेपाली कांग्रेस सभापति एवम् संसदीय दल नेता शेरबहादुर विपक्ष दल नेता घोषित भए ।

सरकारलाई समर्थन गर्ने दल नेताले विपक्ष दल नेताको उपाधि तथा पदीय सहुलियत प्राप्त गर्ने विश्वमा उहाँ सायद प्रथम नेता हुनुहुन्छ । ३० दिन नपुग्दै दाहालले राजनैतिक समीकरण बदले । एमाले अध्यक्षलाई ‘ड्रप किक’ हानेर उत्तानो परेर पछारिदिए । उनी पुनः नेपाली कांग्रेसको शरणमा पुगे । त्यसपश्चात् पनि तिनीलाई संसद्को बहुमतले विश्वासको मत दियो । शेरबहादुरले पहिरिएको विपक्ष दल नेताको सम्मान खड्गप्रसाद ओलीले पाए । यो घटना ‘राजनीति भनेको सम्भावनाको खेल’ उक्तिको उत्कृष्ट उदाहरण भएको छ । त्यसका साथै समस्त विश्वलाई नेपालले अर्को ‘नौलो’ उदाहरण पनि प्रस्तुत गरिदिएको छ । सरकारको तथा विपक्ष दुवैको नेतृत्व कम्युनिस्ट दल अध्यक्षहरूकोे प्रावधानबाट ।

देशमा भ्रष्टाचार मौलाएको मौलाएकै छ । वर्तमान कालखण्डमा यो हाम्रो जीवनको अभिन्न अंगजस्तै भएको छ । सरकारले गर्ने खरिदी चाहे त्यो सियो होस् अथवा हवाईजहाज त्यसमा कसै न कसैले पदीय दुरुपयोग गरेर बेइमानी गरेकै हुन्छन् । मानिसले सेवन गर्ने औषधि होस् अथवा कीटनाशक विषादी त्यस्ता खरिदमा पनि भ्रष्टाचार हुने गर्छ । चार वर्षमा समापन गर्ने लक्ष्य लिएको जतिसुकै महत्वपूर्ण निर्माणकार्य पनि भ्रष्टाचारकै कारणले गर्दा पन्ध्रौं वर्षसम्म समापन हुँदैन । कुनै पनि नागरिकले सरकारी कार्यालयमा साधारणभन्दा साधारण कार्य सम्पन्न गर्न अतिरिक्त शुल्क तिर्ने पर्ने हुन्छ यदि काम फत्ते गर्ने हो भने । भ्रष्टाचारले गर्दा देशले बेहोरेको खतिको हिसाबकिताब अथवा अनुसन्धान गर्ने प्रचलन हामी कहाँ छैन त्यस कारण देशले गुमाएको हरहिसाब थाहा हुँदैन । मापन गर्न नसके पनि थाहा हुने भनेको भ्रष्टाचारकै कारणले गर्दा नेता, सरकार तथा सरकारी निकायप्रतिको विश्वास गिर्दो अवस्थामा छ । अनि त्योसँगै बढ्दै गरेको नैराश्य हो । उक्त नैराश्यसँगै बढ्दै छ लोकतान्त्रिक प्रणालीप्रति नै नकारात्मक धारणा ।

भ्रष्टाचार फैलनको कारण नेताहरूको सत्तामोहसँग गहिरिएर गाँसिएको प्रसंग माथि नै उल्लेख गरियो । फास्ट फरवार्ड गरेर सुशासन तथा भ्रष्टाचार विरोधी सरकारले उठाएका पाँच प्रकरणतर्फ लागौँ । रोजै सञ्चार माध्यममा प्रसारण हुने पाँच भ्रष्टाचार काण्डहरू हुन् पशुपतिमा चढाएको सुन मिसावट गरिएको जलहरी, नक्कली भुटानी शरणार्थी ठगी, बालुवाटार जग्गा प्रकरण, कृत्रिम चुरोटभित्रको सुन तथा एक क्विन्टल सुन (वास्तविक तौल ६६ केजी) ।

राजनैतिक समीकरण बदलिएपछि प्रधानमन्त्री दाहाल तथा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने तथा भ्रष्टाचारका विरुद्ध जेहाद छेड्ने घोषणा गरे । नेपालमा भ्रष्टाचार एक प्रकारले विरोधीलाई सिध्याउन प्रतिशोधको अस्त्रको रूपमा प्रयोग गरिन्छ । वर्तमान सरकारको निसानामा परे विरोधी दल नेता एवम् एमाले अध्यक्ष खड्गप्रसाद ओली । सुरु भयो कम्युनिस्ट आदर्श अनुरूप नास्तिक छविलाई निरन्तरता दिँदै शपथग्रहण कार्यक्रममा ‘ईश्वरको नाममा’ वाक्य उच्चारण गर्न इन्कार गर्ने नेताले सरकारी खजानाबाट पशुपतिनाथलाई चढाएको सुनको जलहरी प्रकरण । उक्त जलहरीमा उपयोग गरिएको सुनको अंश यकिन हुनुपूर्व थामथुम पार्ने उच्च स्तरीय सहमति सायद भयो ।

त्यसपछि सार्वजनिक भयो नेपालीलाई भुटानी शरणार्थी ठगी प्रकरण । राज्य सञ्चालनका अग्रपंक्तिका नेतृत्व मिलेमतोमा गरेको ठगी प्रकरण । सपनाको व्यापार गरेर कमाउन जति सहज थियो त्यसलाई गुपचुप पार्न त्यति नै कठिन । नगद संकलन गर्नेले ‘अमेरिकामा’ नेपाली नागरिकलाई भुटानी नागरिक तुल्याएर पठाई दिने आश्वासन दिन सके तर पठाउन सक्ने सम्भावना नै थिएन । त्यसकारण संकलन गरेको नगद फिर्ता नगरी धरो नै थिएन । लुटको धन फुपूको श्राद्ध गरेर खर्च भैसकेको तथा शक्ति स्रोतहरूलाई बाडिसकेको हुनाले त्यो फिर्ता हुने अवस्था रहेन । सम्बन्धित सरकारी निकायमा संगठित ठगी सम्बन्धित मुद्दा दायर हुन थालेपछि लुकाउन कठिन हुने नै भयो । पोलापोलको म्याराथन सुरु भएपछि परेका ठूला ढ्वाङको प्वाल टाल्ने क्षमता कसैको पनि भएन । प्रहरी परिचालन बाध्यता थियो । प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले धरपकड गर्न थालेपछि शीर्षस्थ नेता तथा तिनका परिवारको संलग्नताबारे पर्दाफास हुन थाल्यो । धन्न तिनै नेताहरूको म्याराथन बैठकले मजेत्रोले परिवार सदस्यको लाज छोप्ने कार्य भएको छ ।

गठबन्धन सदस्यहरूमध्ये केहीले सरकारप्रतिको असन्तुष्टि पोख्न थालेपछि तिनको मुखमा बुझो लगाउने उद्देश्यले ललिता निवास जग्गा प्रकरणको फाइल खोलियो । अदालतको फैसलाले ‘नीतिगत निर्णय’को घुम्टो ओढेर गरिने भ्रष्टाचारका घोटाला गर्न नमिल्ने समान जारी भएको छ । विद्युतीय चुरोटभित्रको सुन प्रकरण पनि सुरुमा नक्कली भुटानी ठगी प्रकरणजस्तै अपराधीहरूबीचको लेनदेन नमिल्दा खुलासा भएको घटना थियो । उक्त काण्डले सुन तस्करीको जालोमा त ठला बडाको संलग्नतालाई उदांग पारिदियो ।

संक्षिप्तमा भन्नुपर्दा उदांग भएका काण्डहरू धेरै अर्थमा ग्रिक पौराणिक कथा पाण्डोराको बाकस सिद्ध भएको छ । पाण्डोराले खोल्न नहुने बाकस खोल्दा त्यहाँ भित्र लुकाइएका सात बस्तुहरू जस्तै लोभ, रिस, हन्तकाले, ईष्र्या, आलस्य, घमण्ड तथा वासना बाहिर संसारमा निस्किहाले । हत्तपत्त पाण्डोराले बाकस बन्द गर्दा आशा चाहिँ त्यही रह्यो । हामी पनि आशा गरौँ ‘आशा’ले कुनै दिन स्थान प्राप्त गर्छ । आशा गरौँ कुनै दिन देश भ्रष्टाचारी तथा भ्रष्टाचारबाट उन्मुक्ति पाउँछ ।