काठमाडौं । कनेपाली क्रकेट टिमका सर्वाधिक सफल खेलाडी र कप्तानको भूमिका निर्वाह गरिसकेका पारस खड्का फेरि नयाँ जिम्मेवारीका लागि अघि बढेका छन् । सक्रिय खेलाडी जीवनबाट दुई वर्षअगाडि सन्न्यास लिएका पारस अहिले क्रिकेटको माथिल्लो निकाय नेपाल क्रिकेट संघ क्यानको चुनावका लागि होमिएका छन् । पहिलो खुड्किलोको रूपमा उनले काठमाडौं जिल्लाबाट पहिलो पटक सदस्यता लिए र त्यही कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित पनि भएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित भएसँगै पारसको ध्यान अब बागमती प्रदेशको अधिवेशनमा केन्द्रित भएको छ । बागमतीका प्रदेशको अध्यक्षमा चुनाव लड्ने तयारी गरेका पारस अहिले चतुरबहादुर चन्दको प्यानलमा देखिएका छन् । तर उनले आफू कुनै पनि प्यानलमा नखुलेको भन्दै बचाउ भने गर्दै आएका छन् ।
क्यानको विधानअनुसार कुनै पनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनुपर्ने हुन्छ । काठमाडौंको सदस्य बनेपछि त्यो बाटो खुलेको हो । पारसले बागमती प्रदेशको अध्यक्षका लागि आफ्नो कार्ययोजना केही दिनमा सार्वजनिक गर्ने बताएका छन् ।
बागमती प्रदेशमा कुल ३७ मतमार रहेको छ । बागमतीमा क्यानको सदस्यता प्राप्त ६ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट छन् ।
हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन् । बागमती प्रदेशको वर्तमान १३ सदस्य कार्यसमितिसँग पनि मतअधिकार हुनेछ । जिल्लाबाट आउने कुल २४ र वर्तमान प्रदेश कार्य समितिको १३ गरी कुल ३७ भोट हुनेछ । पारसले अध्यक्ष जित्न १९ भोट आवश्यक पर्दछ ।
६ जिल्लाको चुनाव सम्पन्न भएसँगै उनको सम्भावना पनि बढेको छ । पारससँग बागमती प्रदेशको अध्यक्षमा चितवनका उमेश पिया भिड्ने चर्चा चलेको छ । पारस क्यानको केन्द्रमा बागमतीको नतिजापछि ध्यान दिने बताउँदै आएका छन् ।
पछिल्लो एक महिनादेखि चुनावी तयारीमा लागेका पारस अब चाहेको खण्डमा केन्द्रमा पनि लड्न सक्छन् । पारस अब काठमाडौंबाट प्रतिनिधित्व गर्दै बागमती र केन्द्रमा लड्नेछन् ।
केन्द्रमा भने कुल ८८ मतभार हुने गर्दछ । क्यानको केन्द्रीय महाधिवेशन भने असोजको ५ र ६ गते हुँदैछ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द नै पुनः एक कार्यकाल दोहो¥याउन चाहन्छन् भने अहिले कोषाध्यक्ष रहेको रोशन सिंहले पनि तयारी गरेका छन् ।
प्रतिक्रिया