काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको हनोईसँगको सम्बन्ध सुधारगर्ने प्रयास अन्तर्गत आफू छिट्टै भियतनाम जाने बताएका छन् ।
न्यू मेक्सिकोमा एक सम्बोधनमा बाइडेनले चाँडै नै भियतनाम जाँने बताएका हुन् ।
संयुक्त राज्य अमेरिका र भियतनामबीच घनिष्ठ व्यापारिक सम्बन्ध रहेको छ भने दुवै देशले यस क्षेत्रमा चीनको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण चीन सागरमा चीनको व्यापक सामुद्रिक दाबीलाई लिएर बेइजिङ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरू, विशेष गरी भियतनाम र फिलिपिन्सबीच वर्षौंदेखि द्वन्द्व बढ्दै गएको छ ।
गत अप्रिलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापानमा भएको जी–सेभेनका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन जाने क्रममा हनोईको भ्रमण गरेको वेला वासिङ्टन र हनोईले कूटनीतिक सम्बन्ध सुधारगर्ने प्रतिबद्धता जनाएका थिए ।
गत मार्चमा बाइडेनले भियतनामको सत्तारूढ कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङसँग कुराकानी गरेका थिए ।
यद्यपि, वासिङ्टनले भियतनामको मानव अधिकारको चिन्तालाई लिएर आपत्ति जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले हालैका महिनाहरूमा चीनसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास गरेको छ ।
प्रतिक्रिया