काठमाडौं । भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउन तत्पर रहेको बताएको छ । आतङ्कवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको छ ।
हालै इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि त्यसको जवाफमा भारतले हिंसामुक्त वातावरण निर्माणमा जोड दिएको हो ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध चाहेको तर त्यस्तो सम्बन्धका लागि आतङ्कवाद र हिंसामुक्त वातावरण बन्नुपर्नेमा जोड दिएका छन् ।
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै दुई देशबीचको तनावपूर्ण सम्बन्धको इतिहास भए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रले झेल्नुपरेको आर्थिक कठिनाइलगायत समस्या सामना गर्न भारतसँगको वार्तालाई जोड दिएका हुन् । यसअघि पनि पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग वार्ता गर्न आफ्नो सरकार इच्छुक रहेको जनउँदै ‘कसैका विरुद्धमा कोही’ नभएको बताएका थिए । भारतले पाकिस्तानमाथि सधै सीमापार आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आतङ्कवादका बीचमा वार्तालाई निरन्तरता दिन नसकिने अडान दोहो¥याउँदै आएको छ ।
सन् २०१९ को अगस्ट ४ मा जम्मूकश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई जम्मुकश्मिर र लद्दाख दुई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयको विरोधमा इमरान खान नेतृत्वको सरकारले पाकिस्तानका लागि भारतका राजदूतलाई निष्कासन गरेको थियो । उक्त कारबाहीसँगै द्विपक्षीय व्यापार पनि अवरुद्ध भएको छ ।
प्रतिक्रिया