भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीन जनाको शव फेला परेको छ ।
पहिरोमा १६ जना नेपाली बेपत्ता भएको अनुमान गरे पनि यकिन संख्या प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ । घटना स्थल नजिक रहेका र काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालिकोटका गरी १६ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बेपत्ता हुनेको यकिन संख्या र विवरण प्राप्त हुन बाँकी रहेको बताउनुभयो ।
पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र स्थानीय निकायसँग निरन्तर पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार बेपत्ता भएकालाई खोज्ने काम भैरहे पनि नदीमा पानीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ भएको छ ।
प्रतिक्रिया