शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको कार्यतालिका तथा भविष्यको योजनाअनुसार पुष्पकमल दाहालपछि फेरि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएकाले उनको त्यो अवसरलाई बेअवसरमा परिणत गरेर त्यो स्थानमा आफूलाई स्थापित गर्ने कांग्रेसभित्रका थरीथरी पदाधिकारीले त्यसका निम्ति कचिंगल खडा गर्ने गरेको प्रस्टै थियो । अहिले ज–जसले मिलेर त्यो दाउ खेलेका हुन्, उल्टो पल्टिन पुगेको छ । देउवाका अगाडि उनीहरू निरीह र कच्चा खेलाडी सावित भएका छन् । भर्खरै सम्पन्न बहुचर्चित केन्द्रीय समितिको बैठकको परिणामले त्यही सावित गरेको छ ।
बैठक अगाडि कांग्रेसको विधान, परम्परा र संस्कृतिलाई आत्मसात् गरिनसकेका दुवै आलाकाँचा महामन्त्रीहरू– गगन थापा र विश्वप्रकाश शर्माले गल्ली हल्लाको लहैलहैमा लागेर सभापति पदको प्रतिष्ठा र गरिमा गिराउन जेजस्ता क्रियाकलाप सञ्चालन गरे, त्यसको साँवा र ब्याज दुवै फर्काएका छन्– केन्द्रीय समितिका सदस्यहरूले । देउवाले चाहिँ आरोप–प्रत्यारोप लगाउने अपजशबाट बचेर डा. शशांक कोइराला र डा. शेखर कोइरालालाई उनीहरूबाट अलग तुल्याउने मात्र होइन, आफ्ना सहयोगीका रूपमा प्रस्तुत गरेर भविष्यमा आफूले उनीहरूमध्ये कसैलाई पनि समर्थन गरेर नसोचेको परिणामतर्फ मोड्न सक्ने वास्तविकताप्रति पनि सचेत तुल्याएका छन् ।
सभापति देउवाले ज–जसलाई आफूले प्रत्यक्षमा विरोध नगरी उनीहरूलाई साइजमा ल्याउन जे जस्ता शब्दमा जति कटु आलोचना गर्नुपर्ने हो, ती सबै अरूबाटै प्रहार गर्न लगाएर बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका विवादका प्रसंगमा बीपी कोइरालाले प्रयोग गर्ने गरेको विरोधको शैलीलाई उनले बडो योग्यतापूर्वक दोहोर्याए । त्यसो गरेर उनले गठबन्धनको सहयोगीहरूलाई मात्र होइन, नेपालको राजनीतिमा विभिन्न बहानामा खेल्न चाहनेहरू सबै, जो परिस्थिति बिगार्न सक्ने स्वदेशी तथा विदेशी शक्तिलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा आफ्नो लोहा मान्न बाध्य तुल्याए– त्यो पनि कसैलाई भनिबिझाउने काम नगरिकनै ।
त्यसबाट नेपाली राजनीतिका खेलाडीहरूलाई मात्र होइन, भारत, चीन र अमेरिकाका अतिरिक्त नेपाली सेनालाई समेत नेपालमा राजनीतिक स्थायित्वका लागि पहल गर्ने अतीतमा बीपी कोइरालाले निर्वाह गरेको भूमिका भविष्यमा देउवाले मात्र निभाउन सक्छन्, अरूले सक्तैनन् भन्ने यथार्थ पनि स्थापित हुन पुगेको छ, जुन उपलब्ध समय सन्दर्भमा अत्यन्त सान्दर्भिक छ ।
कांग्रेस संसद्मा सबैभन्दा ठूलो दल हो । प्रदेशमा पनि कांग्रेसका चार मुख्यमन्त्री छन् र अरू प्रदेशमा समेत कांग्रेसको समर्थनबिना सरकार गठन हुन सम्भव छैन । स्थानीय तहमा कांग्रेस झन्डै दुई तिहाइको संख्यामा जितेको छ । संक्षेपमा कांग्रेस, देशको ठूलो दल बनेको छ । २०७२ सालमा नयाँ संविधान लागू भएपछि पहिलो चुनावमा कांग्रेस होइन, कम्युनिस्ट पार्टी पहिलो स्थानमा थियो, त्यो पनि एमाले । २०७९ सालको चुनावमा कांग्रेसले एमालेलाई दोस्रो स्थानमा ओरालेर आफू पहिलो शक्ति बनेको छ । त्यो उपलब्धि कांग्रेसले हासिल गरेको हो– शेरबहादुर देउवाको नेतृत्वमा ।
जसरी देउवा प्रजातन्त्र पुनस्र्थापनाको लामो र अथक संघर्षबाट उठेर कांग्रेसको नेतृत्वमा स्थापित भएका हुन्, त्यसैगरी सबै खाले कम्युनिस्टहरूलाई नारेर वर्तमान राष्ट्रिय राजनीतिलाई हाक्ने स्थान र स्थितिमा पुगेका हुन् । तसर्थ सभापति देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न पहिले पार्टीको त्यो पदबाट हटाउन आवश्यक मात्र होइन, अपरिहार्य पनि छ ।
अनि, मात्र त्यहाँ पुग्ने बाटो खुल्छ । त्यो क्षमता र औकात अब कसैमा शेष बचेको छैन भन्ने तथ्य, केन्द्रीय समितिको बैठकले पुष्टि गरिसक्यो । राजनीतिमा आज असम्भव देखिएको काम कुरा भोलि सम्भव नहोला भन्न सकिन्न, तापनि त्यो कद, काँट र उचाइ मात्र होइन, स्वीकार्यता भएका अर्को नेता, कमसेकम अहिलेलाई देउवाबाहेक अर्का देखिएका छैनन् । त्यसैले केन्द्रीय कार्यसमितिले राष्ट्रिय राजनीतिमा जुन सन्देश सम्प्रेषित गरेको छ, त्यो त्यत्ति हो ।
प्रतिक्रिया