देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अडुकिया भागे कि भगाइए !

सुन तस्कर समातिनेमा आंशका

देशान्तर

काठमाडौं । स्कुटरको ब्रेक सुको नाममा ल्याइएको १ सय किलो सुन राजस्व अनुसन्धान विभागले विमानस्थलको गेटैबाट बरामद गरेपछि विमानस्थल भन्सार विभागमा कर्मचारीको बिल्लीबाँठ भएको छ भने तस्करीमा संलग्न भएको हुन सक्ने आशंका गरिएका व्यापारीको पनि भागाभाग सुरु भएको छ ।

अहिलेसम्म सम्भावित आरोप लागेका व्यक्तिहरूले सुन मेरो होइन, यसमा म संलग्न छैन भनेर स्पष्टीकरण दिइरहेका छन् भने कोही सन्दिग्ध व्यापारी मुलुकको सीमापार गरेर भागेको आशंका गरिएको छ । अनुसन्धानका क्रममा तानिएका एक विवादास्पद व्यापारी राकेशकुमार अडुकिया सुन बरामद भएको दुई दिनपछि फरार भएका छन्, उनी भागेका हुन् वा भगाइएका हुन् भन्ने आंशका सर्वत्र गरिएको छ । विभागले उनको घर र गोदाममा छापा मारे पनि उनी भेटिएनन् तर उनको घरबाट फेला परेका केही कागजातले उनको संलग्नतालाई पुष्टि हुने आधार मिलेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।

बैंक र सेयर कारोबारको धन्दापछि धातुको कारोबारमा लागेका व्यापारी अडुकियाले हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएकोमा सोही क्रममा चिनियाँ र भारतीय गिरोहसँग मिलेर सुनको अवैध तस्करी थालेको र पछिल्लो पटक बरामद गरिएको सुन पनि उनले नै भित्र्याएको अनुसन्धानमा देखिएको संलग्न अधिकारीहरूले बताएका छन् ।

गत चैतमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर हङकङबाट सामान ल्याउन थालेको रेडी ट्रेडर्स दोलखाका एक सामान्य कामदार विनोद भुजेलको नाममा दर्ता गरिए पनि त्यसका असली सञ्चालक भने अडुकिया भएको पाइएको छ । यसअघि २२ पटकसम्म रेडी ट्रेडका नामबाट सामान आयात गरेको तथ्य पनि अनुसन्धानका क्रममा भेटिएको छ ।

हङकङको काउलिन सिटीमा अडुकियाको कार्यालय रहेको र सोही कार्यालयले सुन तस्करीको चाँजोपाँजो मिलाउने गरेको भेटिएको छ । पछिल्लो पटक नेपालमा हुने सुन तस्करीमा चिनियाँ गिरोह संलग्न रहेको तथ्य हालै पक्राउ परेका चिनियाँ नागरिकको अपार्टमेन्टमा फेला परेका उपकरणले पनि पुष्टि गरेको छ । चिनियाँ व्यापारीले उताबाट पठाउने, नेपालमा अडुकियाले रिसिभ गर्ने र भारतीय व्यापारीलाई हस्तान्तरण गर्ने भएकाले सुन तस्करीमा तीन वटै देशका गिरोहको संलग्नता भेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले देशान्तरलाई बताएका छन् । सुन तस्करीका लागि अडुकियाले बारम्बार दिल्ली र हङकङको भ्रमण गरेको पनि खुलेको छ ।

अडुकिया पछिल्लो पटक गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडानबाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ मा बैंकक हुँदै काठमाडौं आएको, जुन २६ मा दिल्ली हुँदै फेरि हङकङ पुगेको १२ दिन बसेर हङकङबाट दुबई हुँदै काठमाडौं आएको देखिएको छ । अडुकियाका बाबु छोरा नै भागे पनि विभागले अहिलेसम्म १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।