देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गन्तव्यविहीनबाट गन्तव्य उन्मुख



विगत केही वर्षदेखि नेपाली कांग्रेस (नेका) दल नेतृत्वले निर्धारण गरेको दलगत उद्देश्य सत्ता प्राप्ति हुँदै आएको छ । सत्ता प्राप्ति केका लागि ? प्रश्नको उत्तर व्यवहारमा देशमा रजगज गर्नका निमित्त सिद्ध हुँदै आएको छ । निहित स्वार्थ समूह, आफ्ना तथा आफ्नाजनको हितका निमित्त राज्यकोषको दुरुपयोग । सत्ता प्राप्ति लक्ष्यसँगै नेपाली कांग्रेस दलको लोकप्रियतामा द्रुत गतिले ह्रास आउँदै गरेको छ । दलको सिद्धान्त तथा मूल्य मान्यता समर्पित नेताहरूबाट दल गलत ‘ट्रेक’मा परेको हुनाले गन्तव्यविहीन हुँदै गरेको विषय उठान गरिन्छ । उक्त विषयले महत्व पाउँदैन सुनुवाइ कतै पनि हुँदैन । लोकतन्त्रको हिमायती दलको परिचय नेकाले गुमाउन थालेको छ ।

सत्ता प्राप्ति उद्देश्यका निमित्त नेकाको प्रमुख प्रतिस्पर्धा प्रमुख कम्युनिस्ट दल एमालेसँग हुँदै आएको छ । विगतका चुनावी परिणामहरूलाई आधार मान्ने हो भने जनमत कम्युनिस्टको पक्षमा छ । कम्युनिस्टहरू विभाजित भएको समयमा कांग्रेस हाबी हुन थालेको छ । कम्युनिस्टहरू एकजुट हुँदाको (जस्तै निर्वाचन २०७४) अवस्थामा भने कांग्रेसले लज्जास्पद हार बेहोर्नु पर्ने परिस्थिति आउँछ । यही वास्तविकतालाई आत्मसात् गरेर कांग्रेस नेतृत्वले देशमा हिंसा, आतंक, असुरक्षा तथा अशान्ति मच्चाएर सत्ता कब्जा गर्ने उद्देश्य राखेका माओवादीले मूल धार राजनीतिमा प्रवेश गरेका दिनदेखि नै तिनलाई अंकमाल गर्ने नीति अख्तियार गर्दै आएको छ ।

ऐतिहासिक लोकतान्त्रिक दलले जनविश्वास आर्जन गर्नेभन्दा विभाजित कम्युनिस्टहरूको कमजोरीबाट ‘मौकामा चौका’ दाउ मार्ने रणनीति अख्तियार गर्दै छ नेका नेतृत्वले । अर्कोतर्फ माओवादी जसको घोषित रणनीति हो ‘ढाडमा चढेर टाउको मा प्रहार’सँगको सहमति तथा सहकार्यको अविश्वासिलो अवसरवादी मोर्चाबन्दी अस्थिर छ । माओवादीको काखामा राखेर कोखामा छुरा धस्ने रणनीतिको प्रतिफल नेकाले भोग्दै आएको छ । तर पनि एमाले तथा माओवादीबीचको सम्बन्ध जति चिसियो त्यति नै कांग्रेसलाई फलदायी हुन्छ भन्ने मान्यता राख्दै आएको छ नेका नेतृत्व । संघीय संसद्को सबैभन्दा ठूलो दलको हैसियत पाउँदा पनि नेका नेतृत्वले माओवादीलाई काँधमा राखेर उसैको नेतृत्वको सरकारमा सामेल भएको छ ।

निःसन्देह कांग्रेस कम्युनिस्ट दुवै थरीले एकल अथवा मिलीजुली सत्ताको बागडोर सम्हाल्न थालेदेखि देश ‘सुशासन’विहीन हुँदै आएको छ । देशमा भ्रष्टाचार संस्थागत रूपमा फैलिएको छ । देशव्यापी रूपमा भ्रष्टाचार ‘वनमारा झार’जस्तो गरी फैलिएको छ । अपवादबाहेक कुनै पनि सरकारी कार्यालयमा साधारणदेखि साधारण कार्य सम्पन्न गर्नका निमित्त प्रवेश गर्नेले अतिरिक्त शुल्क नतिरी कार्य फत्ते गर्न नै नसक्ने अवस्था छ । अर्कोतर्फ नागरिकलाई सुशासनको अनुभूति दिने प्रयाससमेत भएको उदाहरण भेट्टाउन कठिन छ ।

समग्रमा भन्नुपर्दा विगत तीन दशकको अवधिमा नेपाली कमुनिस्टहरू ‘कमाउनिस्ट’मा रूपान्तरण भइसकेका छन् । सर्वसाधारणबाट जोकोही पनि किन ‘कम्युनिस्ट’ किन भएको भन्दा ‘कमाउने धन्दा सञ्चालन’का निमित्त भन्ने उत्तर पाइन्छ । सत्तासीन हुँदा साथै उनीहरू ‘भ्रष्टाचारका विरुद्ध जेहाद’को ढोलक पिट्ने गर्छन् । तर, सियोदेखि हवाईजहाज खरिद होस् अथवा सरकारी जग्गाको हिनामिना गर्न अग्रपंक्तिका नेताहरू कहिले पनि समय खेर फाल्न पछि पर्दैनन् ।

अग्रपंक्तिका प्रायःजसो सबै नेताहरू भ्रष्टाचारका घोटालामा मुछिएका वा संलग्न भएका हुन्छन् । राज्य सञ्चालनका संस्थागत अवधारणाहरूलाई कम्युनिस्टहरूले बलियो पकड जमाएका छन् । जसले गर्दा ठूलासाना घोटाला प्रकरण छानबिनबिना सामसुम पार्ने उनीहरूले भरपूर छुट वा सुविधा पाउँदै आएका छन् । विडम्बना नेका नेताहरूको भ्रष्टाचार प्रकरणहरूमा कम्युनिस्ट नेताहरूसँगै नाम जोडिन थालेको छ । त्यतिमात्र होइन उनीहरू सँगै मिलिभगत गरेको आरोपहरू लाग्न थालेको छ ।
‘सरकार’सँग सर्वसाधारण आजित भएका छन् ।

सरकारले गर्ने सीमित नै किन नहोस् सकारात्मक पहल कदमको समेत शंकाको दृष्टिले हेर्ने संस्कार हाबी भएको छ । ‘जुन जोगी आए पनि कानै फट्टा’ हुने जन वश्वासको वातावरण छ । ‘यहाँ केही हुनेवाला छैन’भन्ने निराशाजनक मनोविज्ञानले देशलाई छपक्क छोपेको छ । यस्तो निराशाजनक वातावरणमा जनसाधारणले खोजी गर्न थालेका छन् सबल नेतृत्वको । दूरदृष्टि भएको सदाचारी नेतृत्व देशले पाए राष्ट्रले उन्मुक्ति पाउने थियो भन्ने धारणाले व्यापकता पाउन थालेको छ ।

विद्यमान अवस्था अर्थात् धमिलो पानीमा माछा मर्न ‘वैकल्पिक’ राजनैतिक शक्तिहरू उदाउन थालेका छन् । तीमध्ये राजावादीहरू ‘छोटे हजारौं महाराजाहरूभन्दा एकै राजा बेस’ तथा ‘अभिभावक भूमिका खेल्न तथा राष्ट्रिय एकता कायम गर्नका निमित्त राजाको आवश्यकता’जस्ता प्रचारमा लागेका छन् । वर्तमानमा नभएर विगतमा बाच्ने अभ्यस्त उनीहरूका निमित्त विगत स्वर्ग र वर्तमान नर्क समान रहेको प्रचारमा अभ्यस्त छन् यी घोर दक्षिणपन्थीहरू । अनेक मनगढन्ते तथ्यहीन प्रचारबाजीमा उनीहरू वर्तमानको तुलनामा विगत स्वर्ण युग थियो भन्ने प्रचारमा व्यस्त छन् । दरबारको ‘हुकुम प्रमांगी’ लाभान्वित यो खेमा राजतन्त्रको वापसीले पुनः ती सुविधाहरू प्राप्त गर्ने मृगतृष्णा देख्दै छन् ।

सरकारमा खोट देखाउँदै सर्वसाधारणलाई उन्मुक्ति दिने कृत्रिम विश्वास बाँड्दै अर्काथरी चम्किन थालेका छन् । लोकरिजाई वादीहरूले जनजीवनले भोग्दै गरेका विषय उठान गरेर लोकप्रियता हासिल गर्दैछन् । स्थापन पक्षविरुद्ध चर्को आवाज उठाउने यो ‘नयाँ राजनैतिक’ अथवा ‘वैकल्पिक राजनैतिक धार’ले लोकप्रियता बढाउन थालेको छ । उनीहरू निराश जनसमूहलाई ‘कालो बादलमा देखा परेको चाँदीको घेरा’ समान हुँदै छन् । मधेसमा सीके राउत, अन्यत्र रवि लामिछानेको लोकप्रियता चुरिँदै गएको छ । रवि लामिछाने, राजेन्द्र लिङ्देन, सीके रावतजस्ता उदयमान नेताहरू स्थापित राजनैतिक नेता शेरबहादुर देउवा, खडगप्रसाद ओली, पुष्पकमल दाहाल तथा उपेन्द्र यादवका निमित्त सशक्त चुनौती साबित भएका छन् । त्यसो त स्थानीय सरकार प्रमुख हर्क साम्पाङ तथा बालेन्द्र साहले पनि एक प्रकारको राजनैतिक तरंग पैदा गर्दैछन् ।

उदयमान नेता तथा तिनले नेतृत्व गरेको दलहरूको भविष्यका विषयमा अनेक अड्कलबाजीहरू काटिने गरिँदै छ । यदि विश्वको बृहत् राजनैतिक परिदृश्यलाई हेर्ने हो भने लोकरिजाइँको माध्यमबाट सत्तासीन हुनेहरू चाहे त्यो विगतको अर्जेन्टिनाको पेरोन होस् अथवा वर्तमान कालखण्डको अन्देज दुदा (पोल्यान्ड), भिक्टर अर्बान (हंगेरी), ताएपि एर्डोगान (टर्की)लगायत अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सबैले लोकतन्त्र माथि नै आक्रमण गरेको पाइन्छ । त्यसैगरी विश्वको इतिहास पल्टाउने हो भने शक्तिशाली व्यक्तिले देशलाई अग्रगमनतर्फ भन्दा पछाडि धकेलेको पाइन्छ । प्रमाणित सत्य हो बिना लोकतन्त्र मानवीय विकास सम्भव हुँदैन ।

निश्चय नै देशको अवस्थालाई मध्यनजर गर्ने हो भने नेकाको रूपान्तरण नितान्त आवश्यक छ । लोकतन्त्र कमजोर प्रणाली हो । हाम्रो लोकतन्त्र अत्यन्त कमजोर अवस्थामा छ । त्यसो हुनामा अन्य दलहरूले भन्दा नेकाले बढी जिम्मेवारी बहन गर्नुपर्छ । नेपाली इतिहास साक्षी छ जबजब लोकतन्त्रको खिलाफ चौतर्फी आक्रमण हुन्छ नेपाली कांग्रेसले डटेर त्यसको सामना गर्दै आएको छ । कमजोर नेकाले लोकतन्त्रका विरुद्ध उदाउन थालेका नयाँ शक्तिको सामना गर्ने क्षमता राख्दैन । त्यसकारण कांग्रेसलाई पुनः एक पटक प्रभावकारी दलमा रूपमा स्थापित गर्नु नितान्त आवश्यक छ ।