काठमाडौं । बीपी कोइरालाको निधन भएको ४१ वर्ष पूरा भयो । तर अहिले पनि बीपी कोइरालाका बारेमा बहस र चिन्तन भइरहने गर्दछ । ४१ वर्षसम्म पनि उनको भौतिक उपस्थित नहुँदा उनका नीति र विचारका बारेमा बहस र चिन्तन हुनु भनेको बीपी कोइरालाका विचार अब्बल थिए भन्ने नै हो । तीनै अब्बल विचारक बीपी कोइरालाले स्थापना गरेको पार्टी नेपाली कांग्रेस भने आज कता जाने भनेर अलमलमा परेको छ । कांग्रेसको आफ्नो यात्रा तय गर्न नसक्नुको कारण भनेको बीपीलाई कांग्रेसले असली रूपमा सम्झन नसक्नु हो । कांग्रेसले बीपी कोइरालालाई वास्तवमै सम्झन सकेको भए आफ्नो यात्रा तय गर्दथ्यो । या त बीपी कोइरालालाई बिर्सेको भए पनि आफ्नो यात्रा अलगै ढंगबाट तय गर्दथ्यो होला । तर आज कांग्रेसले न बीपीलाई सम्झन सकेको छ न त बिर्सन ।
कांग्रेसले बीपीलाई सम्झेको भए बीपी कोइरालाले अवलम्बन गरेका आधारभूत सिद्धान्त र विचारलाई व्यावहारिकमा नै कार्यान्वयनमा ल्याउथ्यो । बीपीलाई बिर्सेको भए नयाँ यात्रा तय गर्दथ्यो । तर आज कांग्रेसले बीपीलाई ‘अञ्जु पन्त’ ले गाएको ‘नसम्झे तिमीलाई न पाए तिमीलाई’ जस्तै नसम्झे बीपीलाई नबिर्से बीपीलाई भन्ने अवस्थामा पुगेको छ । बीपीलाई सम्झन त नसक्ने कांग्रेसले उनलाई बिर्सेर आफ्नो नयाँ यात्रा तय गर्दछ भनेर लोकले पत्याउँदैन् । त्यही कारणले कांग्रेसले बीपी कोइरालालाई बिर्सने भन्ने कल्पना पनि गर्न सक्दैन ।
अब कांग्रेसले बीपी कोइरालालाई सम्झने भनेको पनि बिर्सन नसकेर जस्तो मात्र भएको छ । अन्यथा बीपीका विचारलाई व्यावहारिक रूपमा स्वीकार गरी कार्यान्वयन गर्ने बाटोमा जान्थ्यो । बीपी कोइरालाले संसदीय व्यवस्था, लोकतन्त्र र राष्ट्रियतामा आफ्नै मान्यता स्थापित गरेका थिए । सहकार्यको राजनीतिमा बीपी कोइरालाका आफ्नै मान्यता थिए । तर ती मान्यतालाई अहिले कांग्रेसले तिलाञ्जलि दिँदै आएको छ । बीपी कोइरालाको सबैभन्दा ठूलो मान्यता भनेको कांग्रेस सत्ता प्राथमिकता होइन जनताका समस्या, मुलुकका समस्या प्राथामिकता भन्ने थियो । तर, अहिले कांग्रेसले बीपी कोइरालाको यो मूल मान्यतालाई तिलाञ्जलि दिएर बीपीलाई बिर्सेको छ । बीपीमा मान्यतालाई तिलाञ्जलि दिनु भनेको बीपीलाई बिर्सनु नै हो ।
संसदीय लोकतन्त्रका केही आफ्नै मान्यता छन् । ती मान्यतालाई बीपीले आत्मसात् गरेका थिए । तर अहिले कांग्रेसले संसदीय लोकतन्त्रका मान्यतालाई कुल्चँदै कुल्चँदै हिँड्न थालेको छ । सत्ताका लागि सबैखाले आदर्श र सिद्धान्तलाई भाँडमा जाओस् भन्ने गरेको छ । बीपीको अभीष्ट केवल सत्ता परिवर्तनमात्रै थिएन, लोकतान्त्रिक प्रणाली स्थापना गरी समतामूलक समाज स्थापना गर्नु थियो । उनका लागि लोकतन्त्र केवल शासन पद्धति थिएन, जीवन पद्धति बनाउनु थियो । तर विचार सिद्धान्तलाई सत्ताका लागि कांग्रेसले धेरै पर नै जान पर्दैन, भरखरै कोसी प्रदेशको सरकार गठनमा कांग्रेसले जे गर्यो त्यो कांग्रेस पार्टी जसले बीपी कोइरालाले अँगालेको सिद्धान्त विचार बोकिरहेको छ भन्ने अवस्था छैन । सरकार बनाउँदा कुर्सीमा विद्यमान सभामुखको समेत हस्ताक्षर प्रयोग गर्नु भनेको संसदीय व्यवस्थाको उपहास हो । माओवादीले गर्यो, एमालेले गर्यो, अरुअरु पार्टीले गरे तर सभामुखको कुर्सीमा आसीन सांसदलाई हस्ताक्षर गर्न लगाएर कांग्रेसले सरकार बनाउन सक्दैन । त्यो भनेको चरम सत्तालिप्सा हो । जुन बीपी कोइरालाले कहिल्यै देखाएनन् ।
आजको कांग्रेसले झै सत्ताका लागि बीपीले सम्झौता गरेको भए बीपी कोइराला आजीवन सत्तामा हुन्थे । तर, अनन्तकालसम्म स्मरणीय हुँदैनथे । आज कांग्रेसका नेताहरू भविष्यमा आफू स्मरणीय भइन्छ कि भइन्न भन्ने चिन्ता नै छैन । अहिले नेताहरूलाई भविष्यमा स्मरणीय हुनेभन्दा अहिले भाइरल हुने उपायको खोजीमा छन् । जसले गर्दा सत्ताको लोभ जागेको छ । समाज बनाउने उपायको चिन्ता नै छैन । सरकारमा अहिले पनि कांग्रेसका ९ जना मन्त्री छन् । कांग्रेसका मन्त्री छन् भन्ने अनुभूति मन्त्री आफैंले चाहिँगरेका होलान् नै तर आम नागरिकले गरेका छैनन् ।
अरू पार्टीका मन्त्रीहरूले के गरे भन्ने प्रश्न होइन कांग्रेसबाट मन्त्री बन्नेहरूले के गरे भन्ने हो । र यो अहिलेका नौ जना मन्त्री मात्र होइन विगतमा बन्नेहरूले पनि के गरे भन्ने हो । तर बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका कामको अहिले स्मरण गर्ने गरिन्छ ।
अब कांग्रेसले बीपी कोइरालालाई कि सम्झनुप¥यो कि बिर्सन प¥यो । गायत्रीमन्त्र झंै बीपी कोइरालालाई जप्ने तर गायत्रीमन्त्र पाठ गर्नेको काँधमा जनै नै नभेटिने अवस्थाको कांग्रेस हुन भएन् ।
प्रतिक्रिया