काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सत्तामा आफूलाई बलियो देखाउनका लागि बनाएको समाजवादी मोर्चा उनकै लागि घाँडो हुने संकेत देखिएको छ । समाजवादी मोर्चामार्फत माओवादी छोडेर हिंसात्मक बाटो दिएका नेत्रविक्रम चन्दलाई फेरि माओवादीमा भित्र्याउने तयारी गरेपछि दाहाललाई मोर्चामा मात्र होइन माओवादीमा समस्या पर्ने देखिएको छ । मोर्चामा सुरुमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जोड्ने तयारीमा रहेका दाहालले एकाएक चन्दालाई जोडेका थिए । चन्दलाई मोर्चामा जोडेर माओवादीमा भित्र्याउने तयारी गरेपछि नेतहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतलगायतले रडाको सच्याउन थालेका छन् ।
चन्दलाई माओवादीमा भित्र्याउने पहल गरेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा अहिले वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतलगायतका नेताहरूको तारो बनेका छन् । पुन, शर्मा र बस्नेतले अहिले महरा र उनको छोरामाथि सुन तस्करीसँग जोडिएको प्रचार गराएपछि माओवादीमा चन्दलाई भित्र्याउने काण्ड भुसको आगोजस्तै फैलन थालेको छ ।
अध्यक्ष दाहालको सल्लाहमा चन्दलाई महासचिव बनाउने गरी समाजवादी मोर्चा माओवादी केन्द्रमा भित्र्याउने तयारी बुझेका पुन, शर्मा र बस्नेत त्यसलाई रोक्नका लागि हदैसम्मको हतकण्ठा अपनाउन लागेका छन् । पुन र शर्मा देव गुरुङ महासचिव बनेको समयमा महासचिव बन्ने दाउमा थिए । तर यी दुवैले को महासचिव बन्ने भन्ने हानाथाप गर्न लागेपछि दाहालले गुरुङलाई महासचिव बनाएका थिए ।
पछिल्लो समयमा चन्दलाई महासचिव बनाउने गरी माओवादी केन्द्रमा छलफल हुन थालेपछि त्यसलाई रोक्न माओवादीका नेताहरू पुन, शर्मा र बस्नेतलगायतको टिम सक्रिय रहेको छ । एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्ने पुन, शर्मा र बस्नेत अहिले चन्दलाई महासचिव बनाउन लागेपछि आफ्नो अस्तित्व रक्षाका लागि एकै ठाउँमा उभिएका छन् । विशेषगरी पुन, शर्मा र बस्नेतको मोर्चाबन्दी अहिले महरा र नारायणकाजी श्रेष्ठ र चन्दका विरुद्धमा रहेको छ ।
पुन र शर्माले सार्वजनिक मञ्चमै विप्लव लक्षित अभिव्यक्तिहरू दिएका छन् । केही दिनअघि विद्यार्थीको कार्यक्रममा उनीहरूले चुनावको बेलामा बम विस्फोट गराएको जस्तो घटना उठाएर विप्लवमाथि प्रश्न उठाएका हुन् । माओवादी स्रोतका अनुसार पुन र शर्मा अहिले जसरी पनि विप्लवलाई रोक्ने र महरामाथि आक्रमण गर्ने रणनीतिमा रहेका छन् ।
प्रतिक्रिया