देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत : दोषी ठहर गर्न अस्वीकार

देशान्तर

काठमाडौं । भारतको सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।
सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेता राहुल गान्धीको अपीलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ । न्यायाधीश बीआर गवईको संयोजकत्वको इजलासले त्यस्तो सूचना जारी गरेको हो । नेता गान्धीको पुनरावेदनमाथि यही साउन १९ गते सुनुवाइ हुनेछ ।
गुजरात उच्च न्यायालयले आफ्नो आदेशमा आपराधिक मानहानि मुद्दामा नेता गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो । उक्त अदालतले सुरत अदालतले गरेको निर्णयलाई नै सदर गरेको थियो । मोदी उपनामलाई लिएर नेता गान्धीले गरेको टिप्पणीबाट मानहानि भएको भन्दै सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको छ ।

सुनुवाइका क्रममा न्यायाधिस गवईले आफ्नो बुबा र भाइको कांग्रेस पार्टीसँग सम्बन्ध रहेको भन्दै मुद्दाबाट अलग हुन प्रस्ताव गरेका थिए तर दुवै पक्षले गवईको सुनुवाइमा कुनै आपत्ति नभएको बताएका थिए ।