काठमाडौं । बैंकहरूले आउँदो साउन महिनाका लागि ब्याजदर तोकेका छन् । असार मसान्तसम्म बैंकहरूले नेपाल बैंकर्स संघले गरेको सहमतिअनुसार ब्याजदर निर्धारण गरेका थिए । साउनदेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् ।
यो असारमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिएका छन् । यसलाई बढाएर एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि १०.९८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो ।
यस्तै, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले साउनदेखि मासिक १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । प्राइम कमर्सियल बैंकले तीन महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिनेछ ।
साउनदेखि नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ । यो बैंकले असारमा रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत दिँदै आएको ब्याजदर साउनदेखि बढाएर ११.४९ प्रतिशत पुर्याएको छ ।
कुमारी बैंकले पाँच वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक १०.०१ प्रतिशत ब्याज दिने जनाएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि सबैभन्दा कम ब्याजदर दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक ८.९५ प्रतिशत ब्याज दिने जनाएको छ ।
प्रतिक्रिया