देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा आचारसंहिता विपरीत एक हजार बालबालिकाको प्रयोग

देशान्तर

स्थानीय तह निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाका प्रयोग गरेको पाइएको छ ।

केन्द्रीय बालकल्याण समितिले गत वैशाख ३१ गते पहिलो चरणमा चुनाव गरिएका प्रदेश नं ३, ४ र ६ मा गरेको बालअधिकार अनुगमनको प्रतिवेदन अनुसार ३७ घटनामा ८५३ बालबालिकालाई दलहरुले प्रयोग गरेको पाइएकोे हो ।

पहिलो चरणको चुनावी प्रचारप्रसारका क्रममा जिप, ट्र्याक्टर, टिपर, ट्रकजस्ता सवारी साधनमा बालबालिकालाई राखी पदयात्रा, आमसभा लगायत घरदैलो अभियानमा १६ घटनामा ६ सय ९४ बालबालिका प्रयोग भएका थिए भने बालबालिकालाई बाजा बजाउने दुई घटनामा सात बालबालिका प्रयोग भएको देखिएको छ ।

यस्तै उम्मेदवार मनोनयनका क्रममा चार घटनामा ३० बालबालिकाको प्रयोग भएको तथा निर्वाचनका दिन स्वयंसेवकका रुपमा दुई घटनामा २० बालबालिका प्रयोग भएको प्रतिवेदनले देखाएको छ । विजय जुलुसमा चुनाव चिह्न अंकित टिसर्ट लगाई नारा लगाएको पाँच घटनामा ९२ बालबालिका प्रयोग भएको पाइएको छ ।

समितिका कार्यकारी निर्देशक तारक धितालले देशको राजनीतिक गतिविधि तथा प्रक्रियामा बालबालिकाको सरोकार रहनु र उनीहरुले आफ्ना कुरा भन्न पाउनु तथा सम्बन्धित पक्षले सुनिदिनु बालबालिकाको अधिकार भए पनि दल विशेषका लागि बालबालिकालाई राजनीतिक क्रियाकलापमा प्रयोग गरिनु बाल अधिकारसम्मत बाल सहभागिता मान्न नसकिने बताए ।

समितिले अनुगमनका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएपछि तत्काल सम्बन्धित दललाई पत्राचार गर्नाका साथै निर्वाचन आयोगमा जानकारी गराएको थियो ।