देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली डलरको अवैध धन्दा

देशान्तर

काठमाडौं । उच्च राजनीतिक नेतृत्व र नेपाल राष्ट्र बैंककै उच्च तहको मिलेमतो र संरक्षणमा नेपालमा अवैध नक्कली डलरको धन्दा हुने गरेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय तस्कर गिरोहको इशारामा नक्कली डलरको छपाइ हुने गरेको दुई वटा भिडियो देशान्तरलाई प्राप्त भएको छ ।

यूएनले ल्याउने ब्ल्याकसिटबाट सक्कली डलरको चाङमा नक्कली डलर मिसाएर यस प्रकारको अवैध धन्दा हुने गरेको चर्चा छ । यसरी साटफेर गरेर निकालिएको डलरबाट अवैध लागूऔषध र हातहतियारको हुन्डीमार्फत तस्करी भइरहेको उच्च स्रोतले देशान्तरलाई बताएको छ । हालै ठूलो मात्रामा एलडीसी (घातक लागूऔषध) र अफगानिस्तानमा अमेरिकी सैनिकले छोडेर गएको अत्याधुनिक हतियार सुरक्षा निकायले भेटेबाट पनि समाचारको पुष्टि हुन्छ ।

यस प्रकारको तस्करीमा राजनीतिक नेतृत्व र चर्चित व्यापारिक घरानाका नवधनाढ्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको स्रोतले जनाएको छ । राजनीतिक संरक्षणमा राष्ट्र बैंककै उच्च तहका व्यक्तिको संलग्नता भइरहेको यस प्रकारको अवैध धन्दामा सुरक्षा निकायको समेत सहयोगको आशंका छ । नवधनाढ्य व्यक्तिहरूले राजनीतिक नेतृत्व र सुरक्षा निकायलाई समेत प्रभावमा पारेर रातारात अर्बपति बन्ने यस प्रकारको अवैध धन्दाबाट मुलुकलाई खोक्रो बनाउने खेलबारे राजनीतिक संरक्षणका कारण सुरक्षा निकायले अनदेखा गरिरहेको बुझिएको छ ।

देशान्तरलाई प्राप्त २५ सेकेन्डका फरकफरक दुई भिडियोहरूमा एउटामा डलर मिसाउँदै गरेको र नेपाली भाषामा नै निर्देशन दिइरहेको सुनिन्छ भने अर्कोमा रसायनको प्रयोग गरी नक्कली डलर छाप्दै गरेको देखिन्छ ।

यसैबीच अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको अभियोगमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई गत मंगलबार प्रहरीले पक्राउ गरेको छ । तर श्रेष्ठको कारोबार माथिको समाचारसँग कुनै सम्बन्ध राख्दैन । श्रेष्ठलाई अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरिएको थियो ।

उनलाई विदेशी विनिमयसम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ । यता इलाका प्रहरी कार्यालय अनारमनीले प्रतिबन्धित भारतीय पाँच सय रुपैयाँको कारोबारमा संलग्न तीन व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । अमेरिकी डलर जस्तै नेपालमा तस्कर समूहले ठूलो परिमाणमा नक्कली भारतीय रुपैयाँ छाप्ने गरेको भारतीय खुफिया संस्थाहरूले शंका गर्दै आइरहेका छन् ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका–३ सुरुंगाका सुन व्यवसायी मौसम श्रेष्ठ, कन्काई नगरपालिका–४ का खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको पाइएको छ ।