दाङ । गृहमन्त्री जनार्दन शर्माले चुनावमा जनताको मत किन्ने प्रयास हुन सक्ने भन्दै निगरानी गर्न आग्रह गरेका छन् । उनले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न मतदाताहरुलाई आह्वान समेत गरे ।
आइतबार बिहान दाङको राप्ती गाउँपालिका(१ मा आयोजित कार्यक्रममा शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला ।’
माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मा बिभिन्न चुनावी सभामा सहभागी हुन आइतबार दाङ आएका छन् । उनको पहिलो सभा लालमटियाबाट सुरु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले माओवादी उम्मेदवारहरु विजयी भएमा शासक नभई जनताको कामदारको रुपमा काम गर्ने बताए ।
उनले झूठा आश्वासन नदिने बरु काम गरेर देखाउने बताए । ‘हाम्रा उम्मेदवारहरु जनताको मन जितेर अघि बढ्छन् । आश्वासन बाँड्दैनन्,’ मन्त्री शर्माले भने, ‘हामी हाम्रा उम्मेदवारलाई शासक बन्न दिदैनौं उनीहरुले जनताको कामदारको रुपमा काम गर्नेछन् ।’
जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर र प्रहरी प्रशासनबाट जोगाएर राखेको स्मरण गर्दै मन्त्री शर्माले अहिले आफूहरुले जनतालाई अधिकार सम्पन्न गराएर गुन तिरेको टिप्पणी गरे । माओवादीकै पहलमा जारी भएको संविधानमा २२ वटा मौलिक अधिकार उल्लेख भएको भन्दै उनले त्याग र बलिदानबाट प्राप्त ति अधिकारहरुलाई चुनावमार्फत कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।
‘हामी जनताको निर्वा्चित सरकार निर्माण गर्दै संविधान निर्माण प्रक्रियामा छौं । संविधानको धारामामात्र लेखिएका अधिकार कार्यान्वयनको चरणमा छौं,’ मन्त्री शर्माले भने, ‘लाखौं जनतालाई आन्दोलनमा उतारेर प्राप्त भएको अधिकार हो यो । हिजो जनताका भात र रोटी खायौं आज अधिकार सम्पन्न बनाएका छौं ।’
देश २० वर्षदेखि माओवादीको एजेण्डामा अघि बढेको भन्दै उनले आफूहरुले जनता र राष्ट्रलाई कहिल्यै धोका नदिएको दाबी गरे । विगतमा बनेका कांग्रेस(एमालेका सरकारहरुले जनतालाई माओवादीले जति अधिकार दिन नसकेको मन्त्री शर्माले बताए ।
प्रतिक्रिया