काठमाडौं । प्रतिनिधिसभाको ८ असारको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले नेपाली युवा रूसी सैन्यबलमा भर्ती भएको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरे । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताए । उनले भने ‘अन्तर्राष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भनेका थिए, ‘रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ ।
हालै एक सञ्चार माध्यममा परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा नेपालीहरू भर्ना भएको भन्ने विवरण कुनै विश्वसनीय स्रोतबाट प्राप्त भइनसकेकाले त्यसबारे सरकारले औपचारिक प्रतिक्रिया नजनाएको बताए । यद्यपि सामाजिक सञ्जाल र कतिपय विवरणमा आएका जानकारीका आधारमा सरकारको यस विषयमा ध्यानाकर्षण भएको उनले बताएका थिए ।
तर देशान्तरलाई प्राप्त विश्वसनीय स्रोतका अनुसार अहिले रूसमात्र होइन चीनमा सैन्य बलमा नेपाली नागरिकलाई भाडाको सेनाका रूपमा सामेल गराइएको छ । यो गैरकानुनी हो । आफू रूसको सेनामा भएको दाबी गर्ने केही नेपाली युवाहरू बन्दुक बोकेर नाचिरहेको भिडिओ सामाजिक सञ्जाल र टिकटकमा आएका छन् । रूसमा अहिले झन्डै एक हजार सात सय नेपालीहरू अध्ययनलगायत विभिन्न उद्देश्यका साथ गएको एक सरकारी तथ्यांक छ । तर हालसम्म २२ सयभन्दा बढी नेपालीहरू विभिन्न माध्यमबाट रूस पुगेर त्यहाँको सैन्यबलमा भाडाका सेनाका रूपमा आबद्ध भएको बताइन्छ । राम्रो पारिश्रमिक र सेवा सुविधामा आकर्षित भएर नेपालीहरूले रूसी सेनामा भर्ती हुने जानकारी आदानप्रदान गरिरहेको पाइएको छ । उनीहरूलाई बिमा, परिवारको आर्थिक सुरक्षा र अन्तमा रूसको नागरिकता दिने आश्वासन दिइएको छ भने मासिक पाँच लाख तलबको अफर गरिएको समेत पाइएको छ ।
यता चीनमा पनि झन्डै पाँच हजार नेपालीहरू अध्ययन र भ्रमणका लगी गएको तर त्यहाँको पिपुल्स लिब्रेसन आर्मीमा भर्ती भएको जनाइएको छ । चीनले यो संख्या एक लाख पु¥याउने नीति लिएको र आफ्नो सैन्यबलमा भर्ती हुनेलाई मासिक बाह्र लाखभन्दा बढी रुपैयाको अफर गरेको बुझिएको छ । योसँगै स्वास्थ्य बिमा, शिक्षा र विशेष राहत प्याकेजको आश्वासन दिइएको छ । हालसम्म ५ लाख ५५ हजार ७८० नेपाली युवा यीलगायत अन्य देशको सैन्यबलमा आबद्ध भएको एक अनौपचारिक तथ्यांक छ । रूसी सैन्यबलमा भर्ती भएका नेपाली युवा युक्रेनविरुद्ध, युक्रेनको सैन्यबलमा भर्ती भएका नेपाली युवा रूसविरुद्ध प्रयोग भएझै चीनको सैन्यबलमा भर्ती भएका नेपाली युवा भारत र अमेरिकाविरुद्ध चीनले प्रयोग गर्ने खतरा छ ।
एक त्रिपक्षीय सन्धिमा नेपाली नागरिकलाई भारत र ब्रिटेनको सेनामा भर्ती गरिने उल्लेख गरिएको छ । यो वैध हो । तर पछिल्लो समय यी दुई देशबाहेक अन्य देशको सैन्यबलमा नेपाली युवा भर्ती हुन जानु सुरक्षा जोखिमसँगै कानुनविपरीत हो । बिद्यार्थी भिसा र पर्यटक भिसामा गएका नेपाली युवाहरू सैन्यबलमा आबद्ध भएको स्रोतको भनाइ छ । यसबारेमा देशान्तरको समाचारलाई उद्धृत गर्दै नेपाल बाहिरका सञ्चारमाध्यमले पनि सम्बन्धित देशको ध्यानाकर्षण गराएका छन् । भारतीय समाचार पोर्टल दि वायरले त एक कदम अगाडि बढेर नेपाली गोर्खा सैनिकहरूलाई चीनमा गोर्खा भर्ती खोल्ने र भर्ती गर्ने तयारी गरेको उल्लेख गरेको थियो । चीनको गोर्खा भर्तीको प्रस्ताव कहाँ, कहिले, कसरी र कोबाट आएको बारेमा भने वायरले खुलाएको छैन । भारत र बेलायतसग भएको सन्धिको कारण देखाउँदै काठमाडौंले बेइजिङको प्रस्ताव अहिलेसम्म अस्वीकार गर्दै आएको वायरले लेखेको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा यो विषयले पनि स्थान पाएको बुझिएको छ । चीनले भारतको ‘गोर्खा रेजिमेन्ट’ जस्तै आफ्नो सेनामा पनि ‘नेपाली रेजिमेन्ट’ बनाउने योजना अघि सारेको र नेपालको कम्युनिस्ट सरकारबाट त्यस प्रकारको वैधानिक अनुमति खोजेको बुझिएको छ । नेपाली नागरिक बेलायती र भारतीय सेनाबाहेक अरू राष्ट्रमा सैनिकको रूपमा भर्ती हुने कुरा असंलग्नता र ‘पञ्चशील’का पाँच सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिसँग मेल खाँदैन । भाडाका सैनिकको रूपमा नेपाली नागरिक भर्ना हुने क्रम बढ्नु चिन्ताको विषय हो । बेरोजगारी, कम तलब, नेपाली सेनामा जागिरको अभावजस्ता समस्याका कारण धेरै युवा अहिले ज्यानै जोखिममा पारेर युद्धग्रस्त देशमा काम गर्न बाध्य हुनु विडम्बना हो ।
प्रतिक्रिया