काठमाडौं । गैरआवासीय नेपालीहरूको संस्था एनआरएनको चुनावी अभियान सुरु भइसकेको छ । दुईवर्षे कार्यकालका लागि २०२१–२३ को केन्द्रीय कार्यसमिति सदस्यता विवादका कारण ढिला गरी निर्वाचित भएको थियो । तर, यसबीचमा शेष घले समर्थित एउटासमूह एनआरएनएबाट छुट्टिएर गयो भने संस्थापन पक्षले ३—३ जना केन्द्रीय अध्यक्ष रहेको कार्यसमिति बनायो । उनीहरूले बाँकी रहेको १८ महिने कार्यकाल ६–६ महिनाका लागि बाँडेर काम गरेका छन् । सुरुमा कुल आचार्य, त्यसपछि रविना थापा र अहिले बद्री केसी कार्यकारी अध्यक्षको रूपमा क्रियाशील छन् । आईसीसीको चुनाव आउँदो अक्टोबरमा काठमाडौंमा हुँदै छ । अहिले एनआरएनएको संगठन भएका ८५ देशमा अधिवेशनहरू सुरु भइसकेका छन् । अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका देशहरूमा चुनावको रौनक बढेको छ । अहिले ती ठाउँहरूमा उम्मेदवारी दर्ता सुरु भएको छ भने जुलाई महिनाभर अधिकांश देशहरूको चुनाव सम्पन्न हुनेछ ।
आसन्न चुनावलाई पनि राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले शेष घले समूहको एनआरएनएलाई पनि समेटेर एकता महाधिवशेन गर्ने भन्दै उनकै उपस्थितिमा सहमति गराइएको थियो । सहमतिअनुसार परराष्ट्रले गर्नुपर्ने कामका लागि मन्त्री एनपी साउदलाई जिम्मेवारी दिएका थिए । सहमतिको हस्ताक्षरपछि परराष्ट्रमा दुवै पक्षलाई भेटेका साउदले घले समूहका अध्यक्ष विनोद कुँवरले पाँच दिनको समय माग गरेका थिए । पाँच दिनको समय घर्किसकेको भए पनि अहिले कुँवर मन्त्रालयको सम्पर्कमा छैनन् ।
नेपाली राजनीतिको असर एनआरएनएमा नपर्ने कुरै भएन । विदेशमा रहेका आफ्ना जनसम्पर्क समितिमार्फत राजनीति गर्नका लागि पनि राजनीतिक दलहरूले यसमा आँखा लगाएका छन् । त्यसैले अब अक्टोबरमा हुने निर्वाचनका लागि पनि विगतको जस्तै दलीय उम्मेदवार हुने पक्का छ । विगतमा नेपाली कांग्रेस, एमाले र माओवादी एक ठाउँमा हुँदा नेतृत्व चयन भएको थियो । अहिलेको अवस्थामा नेपाली कांग्रेसबाट डा. केशव पौडेल र महेश श्रेष्ठले अध्यक्षमा दाबी गरेका छन् भने माओवादीबाट कतारमा रहेका आरके शर्मा अघि बढ्ने रणनीतिमा रहँदा एमालेबाट बर्तमान अध्यक्ष बद्री केसीलाई नै सार्न सकिन्छ कि भन्दै जोखना हेरेर बसेको बुझिएको छ । माओवादी केन्द्रसँग एमालेको गठबन्धन बन्दा हौसिएका बद्री केसी अहिले कांग्रेस, माओवादीको गठबन्धन बन्दा ब्याक भएर बसेको अवस्था पनि रहेको छ ।
माओवादीले विगतमा कुल आचार्यसँग राम्रो मोलमोलाइ गरेको थियो भने यस पटक प्रचण्डको जोडबलमा आरके शर्मालाई अघि सार्ने तयारी गरेको छ । गत साता एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रमुख अतिथि नै बनाएका थिए । अहिले पदीय जिम्मेवारीअनुसार खड्काको एनआरएनएसँगको सम्बन्ध कुनै हिसाबले नजोडिए पनि आरके शर्माले खड्कालाई खुसी पारेर कांग्रेसको समर्थन पनि आफूलाई दिलाउनका लागि लविङ गरेको रूपमा धेरैले अर्थ लगाएका छन् । त्यो कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारीसहित एमाले नेता रघुवीर महासेठको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया