पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पालिकाको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई पालिकाले बजेट पेस गरेका हुन् । ७ सय ५३ वटा पालिकामध्ये १२ वटा पालिकाहरुले बजेट पेस गरिसकेका छन् ।
कोशी प्रदेश अन्तर्गत इलामको देउमाई नगरपालिका र मोरङको जहदा गाउँपालिकाले असार ७ गते बजेट ल्याएका छन् । मधेस प्रदेश अन्तर्गत महोत्तरीको एकडारा गाउँपालिकाले पनि ७ गते नै बजेट ल्याएको छ। साथै सुदूरपश्चिम प्रदेशबाट कैलालीको जानकी गाउँपालिकाले असार ८ गते र दार्चुलाको दुहुँ गाउँपालिकाले असार ७ गते बजेट सार्वजनिक गरिसकेका छन् ।
यस्तै, बाग्मती प्रदेश अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिकाले ७ गते र सिन्धुलीको मरिण गाउँपालिकाले ५ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको शहीद लखन गाउँपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाले असार ७ गते तथा बाग्लुङको बरेङ गाउँपालिकाले ८ गते बजेट सार्वजनिक गरिसकेका छन् । असार १० गतेभित्रै सबै पालिकाले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आव २०७९र८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।
प्रतिक्रिया