देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल ट्रेड युनियन कांग्रेस को ७ औँ राष्ट्रिय महाधिवेशन सोमबारबाट

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औँ राष्ट्रिय महाधिवेशन सोमबारबाट सुरु हुँदैछ । काठमाडौँमा हुन लागेको महाधिवेशन असार ४ देखि ६ गतेसम्म चल्ने छ ।
महाधिवेशनको सोमबार दिउँसो १ बजे उद्घाटन हुनेछ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार बन्द सत्रको कार्यक्रम छ भने असार ६ गते मतदानको प्रक्रिया सुरु हुनेछ ।
एनटीयुसीले निर्वाचनको जिम्मा कांग्रेसकै शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)लाई दिएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने एनटीयुसीका वर्तमान महासचिव योगेन्द्र कुमार कुँवरले बताए ।
एनटीयुसीका उपसभापति तथा प्रचार समिति संयोजक अजयकुमार राईले महाधिवेशनमा करिब १५ सय प्रतिनिधि र प्रयवेक्षक सहभागी हुने जानकारी दिए ।
एनटीयुसीको ४९ सदस्यीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ ।
माउ पार्टी कांग्रेसको संस्थापन र इतर पक्ष एनटीयुसीमा पनि प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छ । एनटीयुसीको अध्यक्षका लागि महेन्द्रप्रसाद यादव र योगेन्द्र कुमार कुँवरबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यादव वर्तमान वरिष्ठ उपाध्यक्ष र कुँवर महासचिव हुन् ।

यादव संस्थापन इतरपक्षीय उम्मेदवार हुन् भने कुँवर उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसबाट अध्यक्षसहित ११ जना पार्टीको महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । २७ वटा शुभेच्छुक संस्था पनि यसकै मातहत हुने भएकाले कांग्रेस नेताहरुले एनटीयुसीको महाधिवेशनलाई विशेष महत्वका साथ लिने गरेका छन् ।