देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आत्मविश्वासको संकटबाट गुज्रेको कांग्रेस


नेपाली कांग्रेसका शीर्षस्थदेखि विभिन्न तहका नेता तथा कार्यकर्ता सबैमा देखिने आमरोग हो– आत्मविश्वासको संकट । त्यसको पहिलो लक्षण पनि विचित्रको छ । आफू पटक्कै अध्ययन र मनन् नगर्ने, कौवाले कांग्रेसको कान लग्यो भनेको सुन्नेबित्तिकै कागका पछाडि आँखा चिम्लेर दौडिने । निकट अतीतका बहुसंख्यक कांग्रेस कार्यकर्ताका क्रियाकलापले त्यही वास्तविकता प्रदर्शित हुने गरेको छ ।

फलस्वरूप कांग्रेस आफ्नै नेता तथा कार्यकर्ताबाट पीडितको हीनताबोधको ट्याग छातीमा झुन्ड्याएर हिँड्न अभीशप्त छ । विचारमा कंगाल र चरित्रमा चण्डाल उसलाई अरूले होइन, आफ्नै नेता र कार्यकर्ताले देखाइरहेका छन् । तैपनि कांग्रेसको होस खुलेको छैन । उसलाई आत्मविश्वास गुमेको रोग जो लागेको छ ।

आफ्नो आत्मसम्मान जगाउने प्रवृत्तिलाई चटक्कै छाडेर चौबीसै घण्टा अर्काको विचार र व्याख्या बोकेर हिँड्नेलाई राजनीतिक शब्दकोशमा “प्रतिक्रियावादी” भनिन्छ । अर्थात् बजारमा जुन कुरा सुन्यो, त्यसैलाई टपक्क टिपेर सुइँकुच्चा ठोक्ने प्रवृत्तिलाई अंग्रेजीमा रियाक्सनरी भन्ने हुनाले नेपालीमा प्रतिक्रियावादी भन्ने गरिएको हो । त्यसको सबैभन्दा नकारात्मक पक्ष भनेको बाहिर जुन कुरा सुनिन्छ, त्यसैलाई ब्रह्मवाक्य मानेर हिँड्ने, आफ्नो पार्टीको नीति र कार्यक्रमलाई भने तुच्छ ठानेर पत्याउन छाड्ने । त्यस्तो दिग्भ्रमित अवस्था तब उत्पन्न हुन्छ, जब उनीहरू अरूले भनेका कुराको विवेचना र छानबिन गर्न छाडेर त्यसैलाई अन्तिम सत्य ठानेर सकिनसकी बोकेर हिँड्न थाल्छन् ।

त्यो रोग, अत्यन्त ठूलो महामारी हो । चीनबाट विश्वव्यापी बनेर फैलिएको कोरोना महामारी र अफ्रिकामा उब्जेर संसारभरि फैलिएको डेंगुभन्दा पनि डरलाग्दो र आत्मघाती रोग हो– परमुखापेक्षी हुनु । आफ्नो आदर्श र सिद्धान्तको अध्ययन नगर्ने अर्काको लहैलहैमा लागेर आफ्ना नेताहरूकै आलोचना गर्न उद्यत् हुनु त्यो रोगको घातक लक्षण हो । कांग्रेस अहिले त्यही रोगबाट आक्रान्त छ । त्यसैले उसका कार्यकर्ताहरू रे रे का पछि लागेर आफ्नो पार्टीको सिद्धान्तबाट विचलित हुन पुगेका छन् । उनीहरूबाट सकारात्मक सोच गायब हुन पुगेको छ । नकारात्मक हीनताबोध उनीहरूको जीवनचर्या बन्न पुगेको छ । त्यही आजको यथार्थ हो ।

कांग्रेस सत्तामा मस्त, संगठन अस्तव्यस्त

नेपाली कांग्रेस, देशको सबैभन्दा ठूलो, संगठित तथा ऐतिहासिक पार्टी हो । उदार प्रजातान्त्रिक समाजवाद उसको जीवन लक्ष्य हो । त्यही आदर्श स्थापित गर्न कांग्रेस समर्पित छ, धेरै कांग्रेसका कार्यकर्तालाई त्यसको बोध र चेत छैन । उनीहरू त कांग्रेस खत्तम भयो । सकिन लाग्यो । अर्को चुनावसम्ममा कांग्रेस ध्वस्त भइसक्नेछ । जनताका नजरबाट गिरेको कांग्रेस अब फेरि उठ्न सक्तैन । विडम्बना कस्तो छ भने विरोधीका त्यस्ता नकारात्मक प्रचारलाई बोकेर हिँड्ने र प्रचार गर्नेमा कांग्रेस विरोधीभन्दा उसका आफ्नै कार्यकर्ता धेरै छन् ।

तथ्य र तथ्यांक साक्षी छ, संघीय संसद्मा सबैभन्दा धेरै सांसद जितेको ठूलो दल कांग्रेस हो । सातै प्रदेशसभामा कांग्रेस या त ठूलो दलका रूपमा स्थापित छ र सरकारको नेतृत्व गरिरहेछ, या उसको सहयोगबिना कसैले सरकार बनाउन र चलाउन सक्ने अवस्था छैन ।

त्यत्ति मात्र होइन, स्थानीय सरकारमा कांग्रेसको चकचकी नै छ । राजधानीलगायत केही प्रमुख नगरपालिकालाई छाडेर अधिकांश नगर तथा गाउँपालिकामा कांग्रेसका निर्वाचित जनप्रतिनिधिले नेतृत्व सम्हालेका छन् । ज्ञातव्य छ, यसअघिको निर्वाचनमा एमाले पहिलो शक्ति बनेको थियो । अहिले कांग्रेसले त्यो स्थान आर्जन गरेको छ ।

राष्ट्रिय राजनीतिमा कांग्रेसलाई त्यो स्थान र स्थितिमा उकाल्ने अभियानका नेता शेरबहादुर देउवा हुन् । प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनबाट उठेर आफ्नो राष्ट्रमा मात्र होइन, अन्तर्राष्ट्रिय जगत्मा समेत विश्वसनीय नेताको ख्याति अर्जित गर्न सफल उनको नेतृत्वकै कारण दक्षिण एसियामा सत्ताकब्जाको सपना देखिरहेको कम्युनिस्ट आन्दोलन विभाजित भएर विसर्जित हुने बाटोमा लागेको छ । उनकै नेतृत्व कौशलताका कारण कांग्रेसको समर्थन र सहयोगबिना केन्द्रमा कसैले सरकार बनाउन र गिराउन नसक्ने अवस्था सिर्जना भएको छ । यो देशमा राजनीतिक स्थिरता नचाहनेहरू त्यही कांग्रेसका तिनै उरन्ठेउला नेता तथा कार्यकर्ता उचालेर देउवाको तेजोबध गर्न र प्रजातान्त्रिक शक्तिलाई कमजोर तुल्याएर फेरि एक पटक चरम अराजकता सिर्जना गरेर धमिलो पानीमा माछा मार्न सिपालु शक्तिलाई चलखेल गर्ने मैदान उपलब्ध गराउन कम्मर कसेर लागेका छन् । कुरा त्यत्ति हो ।

समयमै बैठक नहुँदा कांग्रेसमा परस्पर विरोधी धारणा आए 

अहिलेको समस्या के हो भने जसले सभापति देउवाको समर्थन र सहयोगले पार्टी र सत्ता सञ्चालनको मुख्य नाकामा स्थापित हुने अवसर प्राप्त गरे, तिनैले देउवालाई गाली गरेर विरोधीको स्याबासी लुट्ने अभियान चलाइरहेका छन् । स्थिति कहाँसम्म पुग्यो भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आकाशै खस्लाजस्तो गरी समस्या उरालेका बेला बिनाआधार देउवामाथि त्यसका छिटा पार्ने प्रयास हुँदा पनि कांग्रेसका कुनै नेता सभापतिको प्रतिरक्षामा उत्रिएका देखिएनन् । सांसद आरजु देउवा एक्लैले पार्टी र पुरुष दुवैथरीको प्रतिनिधित्व गरेर उनको रक्षा प्रभावशाली ढंगले गर्नुपर्‍यो । वास्तवमा त्यो प्रजातन्त्र र कांग्रेसका निम्ति अत्यन्त पीडादायी तथा दुर्भाग्यपूर्ण अनुभव थियो । त्यसलाई देउवा दम्पतीले हिजो व्यहोरे, भोलि अरूले पनि झेल्ने नै छन् । त्यसपछि मात्र सबैले अनुभव गर्नेछन्, त्यो कति गम्भीर गल्ती थियो भनेर ।