देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सत्तामा मस्त, संगठन अस्तव्यस्त

देशान्तर

काठमाडौं । सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री मोहका कारण आफ्नै नेतृत्वको गठबन्धन भत्किएर एमाले माओवादी गठबन्धनबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि उक्त गठबन्धन भत्काएर फेरि सत्तामा जाने दाउ रचिरहेका देउवा राष्ट्रपति निर्वाचनसँगै दाहाल ओली गठबन्धन भत्किएर कांग्रेस माओवादी समीकरण बनेपछि उपप्रधानमन्त्रीसहित सत्तारोहण गरेको कांग्रेस पछिल्ला केही महिनायता राष्ट्रिय राजनीति र सार्वजनिक चासोका मुद्दामा देखिन र सुनिन छाडेको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतले व्यक्तिगत रूपमा बोल्ने गरे पनि पार्टीले औपचारिक रूपमा धारणा सार्वजनिक गर्न नसक्दा देशभरका कार्यकर्ता नेतृत्वसँग रुष्ट छन् भने नेतृत्वको कार्यशैलीबाट निराश छन् ।

गठबन्धन किन भत्कियो, फेरि नयाँ गठबन्धन किन बनाइयो, सरकारमा कस कसलाई कसरी पठाइयो, चुनावको समीक्षा किन गरिएन, नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टीका नेताका बारेमा पार्टीे औपचारिक रूपमा किन धारणा सार्वजनिक गरेन भन्ने लगायतका विषयमा पार्टीमा चर्को आलोचना भइरहँदा पनि आफ्ना केही विश्वासपात्रलाई सरकारमा पठाउन सकेको र पुष्पकमल दाहालपछि प्रधानमन्त्रीको लागि आफ्नो पद सुरक्षित गरेको नाममा सभापति देउवा मस्तराम भएपछि संगठन अस्तव्यस्त भएको छ । कोषाध्यक्ष र केन्द्रीय सदस्यहरू मनोनीत पनि नगरी बसेका देउवाले विभागहरू गठन गर्न सकेका छैनन् भने भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको भद्रगोल अवस्था सुधारमा पनि ध्यान दिएका छैनन् ।

पदाधिकारी तहमा भएको छलफलमा गत वैशाखको अन्तिम साता नै केन्द्रीय समिति बैठक बस्ने, विभाग गठन गर्ने, भ्रातृ संस्थामा पदाधिकारी मनोनयन गर्ने लगायत सहमति भए पनि एक महिना बित्दा पनि देउवाले कुनै काम गरेका छैनन् ।
आम चुनावअघि केन्द्रीय समिति बसेकोमा त्यसयता केन्द्रीय समिति बैठक बस्नै सकेको छैन । देउवाले सीमित नेताहरूको सल्लाहमा निर्णय लिने गरेका छन् जसका कारण संस्थागत र सामूहिक नेतृत्व प्रणाली नै ध्वस्त भएको छ । पार्टीमा चर्को आलोचना भइरहँदा देउवाले भने आगामी महाधिवेशनमा आफू फेरि सभापति नबन्ने र नेतृत्व आउन चाहनेले नै संगठनमा ध्यान दिनुपर्ने ओठे जवाफ सार्वजनिक समारोहमा नै दिन थालेका छन् ।
अहिले केही नेताहरू नेपाली कांग्रेस रूपान्तरणको नाममा देश दौडाहामा छन् । महामन्त्री गगन थापाले पनि केही जिल्लामा पुगेर नेतृत्वको आलोचना गर्दै सुधारका लागि दबाब सिर्जना गर्दैछन् । तर, सभापति देउवा भने कानमा तेल हालेर बसेका छन् ।