काठमाडौँ । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।
नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए ।
भारतका प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताएका छन् । भविष्यमा आफ्नो सहकार्यलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी दिए ।
क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनले वक्त गरे । त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुर्काेट कर्णाली हाइडो«पावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए । अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनसम्म पुर्याउने बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।
उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिन आफू दुईजनाबीच छलफल भएको बताए । नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै उनले सीमालगायत अन्य समस्या समाधान गरिने बताए ।
हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर संगै, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ । आज सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास र नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन गरिएको हो ।
त्यसैगरी बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन संगै तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपालतर्फ प्रस्थान गरेको छ । त्यसैगरी अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास गरिएको छ । गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास संगै सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी भएको छ । त्यसैगरी तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट र क्रस बोर्डर पेमेन्टमा पनि दुई देश बीचको समझदारी पत्रका हस्ताक्षर भएको छ । आजै नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको उद्घाटनको घोषणा संगै भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन् । उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको बताए । तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रचण्डले उल्लेख गरेका छन् ।
प्रतिक्रिया