देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परम्परागत रैथाने संचार प्रणाली : कटुवाल प्रथा


काठमाडौं । हाम्रा पूर्वजहरु प्राचिन समयवाट नै समाजमा मिलेर बस्ने, सामाजिक कार्यहरु गर्ने ,समाजका  अगुवाहरु प्रतिनिधिमूलक हिसावले भेला हुने आफ्नो गाउँ समाजकालागि गरिएका सामूहिक निर्णयहरु सवै स्थानीय वासिन्दाहरुलाई जानकारी गराउनु पर्ने प्रचलन थियो। तत्कालिन समयमा पनि सूचनाको महत्व बुझी सकेको तर सूचना संप्रेषणकालागि संचार प्रविधिको विकास भै नसकेकाले कुनै व्यक्ति विशेषलाई जिम्मवार वनाउन आवश्यक ठानियो । सो जिम्मवारी कसैलाई तोक्ने र उसको पारिश्रमिक स्वरुप तत्कालिन अवस्थामा नगदको प्रयोग नहुँदा वार्षिकरुपमा बाली (अन्न) दिने गरी शुरु भएको हुन सक्छ कटुवाल प्रथा ।
यो प्रथा निरन्तर रुपमा समय सन्दर्भ अनुसार परिष्कृत हुदै आएको पाईन्छ । पञ्चायतकालको अन्त्यसम्म नेपालमा यो प्रथा व्यापक प्रचलनमा थियो ।बहुदलिय व्यवस्थाको प्रारम्भ भएपछि विगतका स्थानिय शासनका ईकाइ (पञ्चायतहरु) गाउँ विकास समितिमा परिणत भए । तत्पश्चात क्रमश: कटुवाल प्रथाको ‌औचित्य समाप्त भए झै गरी हराउदै जान थाल्यो । संचार प्रणालीमा आएको नविनतम र तीव्र विकासले  प्राचिनकालदेखि तत्कालिन विशेष आवश्यकता अनुसार स्थापित नेपाली परम्परागत रैथाने संचार प्रणाली कटुवाल प्रथा आजभोलि विस्तारै लोप हुदै गइरहेको ,काही कतैमात्र अस्तित्वमा रहेको सुन्न पाईन्छ ।
आज सोही  पहाडी भेगको कटुवाल प्रथा को विषय उठान गर्ने प्रयास गरेको छु ।
‘’पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति /गाउँघरमा उर्दीपुर्दी सुनाउने कामको निम्ति राखिएको गैर सरकारी कर्मचारी” भनि नेपाली शव्द कोषमा कटुवालको परिभाषा गरिएको छ ।
तत्कालिन सामाजिक / प्रशासनिक आधिकारिकता पाएको व्यक्तिले अह्रायअनुसार सार्वजनिक स्थलमा भेला, वैठक ,श्रमदान, झारा ,सूचना, जानकारी जस्ता विषयवस्तुहरु सवैलाई जानकारी गराउन चर्को स्वरमा सूचनाको सार्वजनिक उदघोषण गर्न हाँक हाल्ने ( कतै घोक हाल्ने) व्यक्तिलाइ नेपाली परम्परागत समाजमा कटुवाल भनिन्थ्यो ।र त्यो संग सम्वद्द प्रथालाई कटुवाल प्रथा भनिएको देखिन्छ ।
कटुवालहरु सूचनाका संवाहक हुन । कटुवालले अग्लो डाँडा, टाकुरा, थुम्कोमा उभिएर निश्चित गाउँलाइ केन्द्रविन्दु मानी हाँक हाल्ने गर्दथे । गाउँलेहरुले के विषयमा हाँक पर्यो भनि आफुले गर्दै गरेको काम  रोकेर कान ठाँडो पारी पारी ध्यानपूर्वक सुन्ने गर्दथे । कटुवालले हाँक हाली जानकारी गराएको विषयलाई आधिकारिक मानिन्थ्यो । गाउँलेहरु पनि सोही सूचनालाइ आधार मानेर जे गर्न पर्ने हो सोही अनुसार गर्दथे ।
 तत्कालिन समाज कृषिमा निर्भर हुनाले सवै मेलापातवाट घर फर्की सकेको अवस्था पारी प्राय: गोधुली साँझ र उषा काल ( मिरमिरे बिहानी ) मा हाँक हाल्ने गरिन्थ्यो । एकपटक मात्र नभएर दोहोराएर गाउँलेहरुलाई सम्वोधन गर्दै विषयवस्तु माथि सटिक प्रकाश पार्दै अन्त्यमा सुन्न पाएनौ भन्न पाउने छैनौ भनी हाँकको विट मार्ने प्रचलन थियो । कटुवाल काम गरे वापत बाली प्रथा थियो । प्रत्येक घरधुरीवाट एक, दुई पाथीका दरले अन्न र दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा स्थानिय मिष्ठान्न परिकारहरु र अतिरक्त भाग उठाउने प्रचलन थियो ।
बर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको तिव्र विकासले सिंगो विश्व नै एउटा गाउँ जस्तै भएको छ ।  स्थानीय एफएम रेडियो र  टेलिभिजनले सुचना संप्रेषण गरि रहेका छन । टेलिफोन,  एसएमएस, च्याट ,भिडियोकल जस्ता स्मार्ट प्रविधिवाट क्षेण भरमा नै विश्वमा  खवर आदान प्रदान हुन सक्छ । हाल कटुवाल प्रथाको ‍औचित्य समाप्त भै इतिहासका पानामा सिमित रहे जस्तो देखिन्छ । कटुवाल प्रथाको रुपमा नभै समय सन्दर्भ अनुसारको पेशाको रुपमा जीवन्त राखेमा  परम्परा धानिन्थ्यो कि ?