देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली शरणार्थी प्रकरण

सूत्रधारहरूलाई अझै उन्मुक्ति


काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई चर्को रकम असुलेर अमेरिका पठाउने गिरोहमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरूमाथि प्रहरीले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहँदा यो प्रकरणमा जोडिएका भनिएका केही उच्च नेता तथा कर्मचारीहरू अनुसन्धानमा नै नतानिएकाले शक्तिको आडमा धन्दा चलाउने र मानव तस्करीमा सघाउने व्यक्तिहरू कानुनको दायरामा नआउने हुन् कि भनेर नागरिकस्तरमा चासो र चिन्ता बढिरहेको छ ।

विशेषगरी प्रकरणका सूत्रधारका रूपमा देखिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राई, त्यसपछिका गृहसचिव महेश्वर न्यौपानेलगायतका उच्च नेता तथा सरकारी अधिकारी छानबिनको दायरामा नआउनुले कारबाहीको प्रक्रियामाथि स्वाभाविक रूपमा शंका बढिरहेको छ । अझ त्यो मन्त्रिपरिषद्का नेतृत्वकर्ता पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली स्वयंले ‘हाकाहाकी’ मलाई सम्पूर्ण भित्री कुरो थाहा छ भन्नुले पनि थापा, राई र न्यौपाने दोषमुक्त छन् भन्ने देखिँदैन, त्यसैले यो प्रकरणमा ओलीको हुटहुटी ज्यादै नै बढेको देखिन्छ । थापा र राई तानिएमा अनुसन्धानको सुइँरो उनीतर्फ पनि बढ्ने हुनाले नै उनको सक्रियता यो काण्डमा बढेको जगजाहेर छ ।

यही प्रकरणमा पीडितहरूले नाम लिएका कांग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवाकी पत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु पनि अनुसन्धानमा नतानिनुलाई कतिपयले शक्तिको आडमा धन्दा चलाउनेहरूलाई शक्तिकै आडमा उन्मुक्ति दिन खोजिएको हो कि भन्ने आशंका उब्जिएको छ ।

गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारीको योजनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईको समेत संलग्नतामा थापाले शरणार्थी समस्या समाधानका लागि भन्दै पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको र उक्त कार्यदल बनाउन तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सहजीकरण गरेको तथ्य सार्वजनिक भइसकेको अवस्थामा प्रहरीले रायमाझी र उनका छोरा तथा थापाका सल्लाहकार राईलाई पक्राउ गरे पनि समिति गठनको निर्णय गर्ने मन्त्री रामबहादुर थापा, समिति गठन गरिदिने तत्कालीन सचिव प्रेमकुमार राई भने अझै छानबिनमा तानिएकै छैनन् । त्यस्तैै गिरोहको योजनाअनुसार बनेको समितिका संयोजक र सदस्यहरूको भूमिका शंकास्पद देखिए पनि उनीहरूका बारेमा पनि अनुसन्धान भएकै छैन ।

एमाले अध्यक्ष केपी ओलीसँगको सहमतिमा नै तत्कालीन गृहमन्त्री थापा र सचिव राईले कार्यदल बनाएको सार्वजनिक भइसकेको छ भने समितिका एक सदस्य गृह मन्त्रालयका शाखा अधिकृतको सरुवा भएपछि सचिव राईले अर्का सदस्य मनोनीत नगरी दुई सदस्यीय कार्यदललाई नै सम्पूर्ण जिम्मेवारी प्रदान गरेको खुलिसकेको छ । थापा अहिले एमाले उपाध्यक्ष छन् भने राई ओलीकै निगाहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त छन् । ओलीले अहिले थापा र राईलाई जोगाउन प्रपञ्च रचिरहेको देशान्तरलाई जानकारी प्राप्त भएको छ ।

त्यतिमात्रै होइन, कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसभित्र हलचल मच्चिएको छ । खाँणसँगै देउवा पत्नी आरजु र खाँणकी पत्नी मञ्जुको यो प्रकरणमा नाम जोडिएको छ । आरजु र मञ्जुले गिरोहसँग पैसा लिएको र सोहीअनुसार बालकृष्णले काम गरिदिएको पनि चर्चा छ । आरजु र मञ्जुका बारेमा सार्वजनिक वृत्तमा चर्चा र बहस चलिरहे पनि उनीहरू भने अनुसन्धानको दायरामा तानिएका छैनन् । देउवाको आडमा उनीहरूले उन्मुक्ति पाउन लागेको भन्दै नागरिक तहबाट खबरदारी पनि सुरु भइसकेको छ ।

प्रहरीले अहिलेसम्म यो प्रकरणमा १२ जनालाई पक्राउ गरिसकेको छ भने कम्तीमा २० जना जोडिएको हुन सक्ने अनुमान गरेको छ । शंकास्पद अन्य व्यक्तिहरूका बारेमा अनुसन्धान भइरहेको बताए पनि प्रहरीले कोकोमाथि अनुसन्धान चलिरहेको छ भन्ने सार्वजनिक गरेको छैन । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीको पक्राउपछि थप राजनीतिक नेक्सस खुल्ने प्रहरीको अनुमान छ ।

एक अर्बभन्दा बढी रकम कारोबार भइसकेको यो प्रकरणमा सुरुमा ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले अहिले संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ । तर, यो घटनामा आधा दर्जनभन्दा बढी मुद्दा र कसुर आकर्षित हुन सक्ने जानकारहरू बताउँछन् । सार्वजनिक पदको दुरुपयोगसँगै राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सकिने र उनीमाथि अधिकतम सजाय हुनुपर्ने कानुनका विज्ञहरूको सुझाव छ ।