माथवरसिंह बस्नेत
स्थान, भक्तपुरको कौशलटार । अवसर थियो, आफ्नो समयका चर्चित नेता जगन्नाथ आचार्यको जन्मशताब्दी समारोह । प्रमुख अतिथि थिए, कांग्रेस सभापति शेरबहादुर देउवा । प्रसंग थियो– कांग्रेसका नीति तथा कार्यक्रमको फितलो प्रदर्शन । नेतृत्वका चरित्रहीनतालाई माध्यम तुल्याएर जनताले ठाडै अस्वीकृत गर्न थालेकाले उपचुनावमा पराजित हुनुपरेको आलो घाउ कोतरेर उनीहरूले कांग्रेस सिद्धियो, डुब्यो, प्रजापरिषद्भन्दा तल पुग्यो भनेर छाती पिट्न थालेको दारुण दृश्यले खडा गरेको बीभत्सता ! सबै वक्ताका मुखारविन्दबाट समस्याका थरीथरीका नमुनाहरू निक्लिरहेका थिए । कांग्रेसको दिन गयो, अब घण्टीले रूख ढाल्ने भयो । हामीले डाँडुमा पानी तताएर त्यसैमा डुबेर मर्नुपर्ने भयो ।
सबैले समवेत स्वरमा चिन्ता व्यक्त गरे, कांग्रेसका कार्यकर्ताले जनतालाई मुख देखाउन नसक्ने भए । जनताले पनि कांग्रेसको मुख हेर्न छाडेका छन् । त्यही कारण उपचुनावमा कांग्रेसले चितवन र तनहुँमा नराम्रो पराजय भोग्नु परेको हो । यथार्थमा त्यो उनीहरूको समस्या समाधानको उपाय थिएन । थियो भने पराजित मानसिकताको अभिव्यक्ति मात्र थियो । किनभने उनीहरू सबैले शेरबहादुर देउवाजीलाई आफ्नो क्रान्तिकारीपन देखाइरहेका थिए– कांग्रेसका नेताको असक्षमता र अकर्मण्यताका कारण चुनाव हार्न पुगेको रुवाइ व्यक्त गरेर । उनीहरूले विरोधीलेभन्दा धेरै बढी समस्या थुपारे तर समाधानका उपाय भने एउटै पनि सुझाएनन् !
सबैभन्दा आपत्तिजनक उनीहरूको आरोप के थियो भने कांग्रेस अहिले पनि देशको सबैभन्दा ठूलो र संगठित पार्टी मात्र होइन, यही एकमात्र प्रजातान्त्रिक पार्टी पनि हो भन्ने उनीहरूले स्मरण गर्नै चाहेका थिएनन् । गएको मंसिर महिनामा भएको चुनावले स्थापित गरेको त्यो सत्यलाई उपचुनावको परिणामले खण्डन गरेको छैन । गर्न सक्ने कुरा पनि होइन । अर्काको लहैलहैमा लागेर कांग्रेसकै हुतिहारा नेताहरू के भन्छन् भने उपचुनावको परिणामपछि कांग्रेसले शासन गर्ने वैधानिकता गुमाइस्क्यो । मानौं, वैधानिकता भनेको संवैधनिक व्यवस्था र जनादेश होइन, उपचुनावमा भएको डलरको चलखेलको तमासा मात्र हो ।
अनि, यो पंक्तिकारले आफ्नो पालो आउँदा भन्नु परेको थियो– कांग्रेस भुइँफुट्टा नेता तथा कार्यकर्ताका कारण यदाकदा कमजोर हुन सक्छ तर पराजित हुन सक्तैन । उसले आफ्नो महत्व र सार्थकता गुमाउन सक्तैन । प्रजातन्त्र पुनस्र्थापनाको लामो र कठोर संघर्षमा राजा, सेना, विदेशी शक्ति र कम्युनिस्टसँग एकसाथ लड्ने मात्र होइन, तिनलाई पराजित गरेर प्रजातन्त्र पुनस्र्थापित गरिछाड्ने कांग्रेसलाई एउटा उपचुनावको परिणामले गाल्न सक्तैन, झन् ढाल्ने त कल्पना पनि गर्न सकिन्न ।
त्यसैले शेरबहादुर देउवाजीलाई सुझाव दिइएको थियो, कांग्रेसलाई पुनर्जागरण चाहियो । त्यो भनेको २०४७ सालको अवस्थामा फनक्क फर्काउनु हो । कांग्रेसले प्रजातन्त्र पुनस्र्थापनाको युगान्तकारी घटनापछि आधुनिक नेपाल निर्माणका लागि आर्थिक क्रान्तिको महान् अभियान पनि त्यसैबेला थालेको हो । प्रजातान्त्रिक समाजवाद र बजारमुखी अर्थव्यवस्थाको संगति बसाल्ने ठोस कदम पनि त्यसपछि नै चालेको हो । कम्युनिस्टका एमाले र माओवादी घटकले मात्र होइनन्, सबै समूहले नाकका चालले सकार्नु परेको छ कि आर्थिक नीतिका सम्बन्धमा उनीहरूले तिलको गेडा जत्ति पनि योगदान दिन सकेका छैनन् । उल्टो सामाजिक सुरक्षाका नाममा खर्चको वृद्धि चाहिँ अन्धाधुन्ध तरिकाले गरे तर अर्थोपार्जनका क्षेत्रमा भने उपलब्धि शून्य भयो ।
त्यही कारण, कांग्रेसले २०४७ यता आर्थिक उन्नतिका क्षेत्रमा जुन प्रगति गरेको छ, त्यसको लेखाजोखामा आधारित राजनीतिक तथा आर्थिक विकासको तथ्य र तथ्यांकसहितको विस्तृत विवरण झल्कने नयाँ घोषणापत्रका साथ पुनर्जागरण अभियान थाल्न विलम्व गर्नु हुन्न । यसमाथि अविलम्ब गृहकार्य थाल्नुपर्छ । कांग्रेसको त्यस्तो पुनर्जागरण अभियान, सबैका लागि एकमुष्ट जवाफ सावित हुनेछ ।
प्रतिक्रिया