काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पछिल्लो पाँच वर्षको अवधिमा प्रतितोला करिब दोब्बरले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को वैशाख महिनामा प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्षको वैशाखमा प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपैयाँ पाँच सय रुपैयाँले बढेको छ ।
२०७६ मा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको महासंघको भनाइ छ ।
विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको व्यवसायीहरुले बताउँछन् ।
सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको हो । महासंघको तथ्यांकअनुसार पाँच वर्षमा सुनको मूल्य निरन्तरण उकालो लागेको छ ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै २०७८ फागुनबाट सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा घटाएको हो । पाँच वर्षको अवधिमा चाँदीको मूल्यसमेत तोलामा दोब्बरले वृद्धि भएको छ ।
२०७५ सालमा प्रतितोला ७५५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर हाल प्रतितोला एक हजार ४ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया