काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले आज जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा आज उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका पाण्डे आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला पाण्डे गृह सचिव भएका थिए । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई यसअघि प्रहरीले पक्राउ गरिसकेको छ । राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको प्रहरी स्रोतको भनाइ छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम असुल्ने कार्यमा पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष बादल र एमाले सचिव रायमाझीसँग निकट सम्बन्ध भएका व्यक्तिहरु संलग्न भएको विषयमा प्रतिनिधि सभाको बैठकमै कुरा उठेको थियो ।
प्रतिक्रिया