काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलार्ए सरकारमा सहभागि हुन आग्रह गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो । सो भेटमा प्रधानमन्त्री प्रचण्डले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि सभापति लामिछानेले पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो ।
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन पनि आग्रह गर्नुभएको थियो ।
सभापति लामिछानेले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताउनु भएको बुझिएको छ ।
रास्वपाले सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया