काठमाडौं । ‘नमच्चिने पिङको सय झड्का’ भने जस्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले एकपछि अर्को घटनाक्रमका कारण वर्तमान राजनीतिक अवस्थामा झन्झन् खुम्चिँदै गएको देखिन्छ, अप्रत्याशित र रहस्यात्मक रूपमा सिद्धान्त र उद्देश्य नै नमिल्ने रास्वपा र राप्रपासहितलाई गठबन्धनमा ल्याई चुनावमा अर्को गठबन्धनको दल नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाईं केन्द्रमा सभामुख, ४ वटा प्रदेशमा मुख्यमन्त्री र अन्य प्रदेशमा सभामुख पाउन सफल एमाले अहिले ‘घरको न घाटको’ अवस्थामा पुगी कोसी प्रदेशमा मात्र खुम्चिन पुगेको छ । त्यसैगरी, हालै सम्पन्न तीनै क्षेत्रको उपनिर्वाचनमा मंसिरको चुनावमा भन्दा साह्रै नै दयनीय अवस्थाको मत प्राप्त गरेको छ, यसबाट के पुष्टि हुन्छ भने, अध्यक्ष केपी ओलीको अहंकारी र दम्भी नेतृत्वका कारण विस्तारै सकिँदै छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी पार्टीसँग नजिकिँदै गएको एमालेले वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा पनि अहिलेसम्म स्पष्ट लिंग नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति एमाले नरम देखिएको थियो ।
उपनिर्वाचन जित्दा र हार्दा सत्ता राजनीतिमा उसलाई पनि फरक पर्ने होइन तर संगठन सुधारका लागि भन्दै ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको एमालेका लागि उपनिर्वाचनमा पार्टी उम्मेदवारले पाएको मतले भने राम्रैसँग धक्का मिलेको छ । जनतामाझ पार्टी पपुलर रहेको एमाले नेतृत्वले दाबी गरिरहेका बेला उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा उसको मत निकै घटेको छ । त्यसले एमालेप्रति आकर्षण कम भएको स्पष्ट संकेत गरेको छ ।
उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ मा कांग्रेस विरासत भत्काउन लागिपरेको एमाले मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा वैशाख १० गते तनहुँ १ मा भएको उपनिर्वाचनमा ११ हजार कम मत एमालेले पाएको छ । मंसिर ४ को निर्वाचनमा तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धामा रहेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए । तर उपनिर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले जम्मा ८ हजार ४ सय ८८ मत मात्रै प्राप्त गरेका छन् ।
तनहुँ १ मा मात्र होइन, चितवन २ मा पनि एमाले उम्मेदवारको अवस्था उस्तै छ । रास्वपाका सभापति रवि लामिछानेसँगको चुनावी प्रतिस्पर्धामा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मत पाएका थिए । तर पाँच महिनापछि भएको निर्वाचनमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले पोखरेलले भन्दा झन्डै ४ हजार कम मत पाएका छन् । उनले १० हजार ९ सय ३६ मत मात्रै पाएका छन् । मंसिर ४ को निर्वाचनमा बारा २ मा एमालेले जसपा उम्मेदवारलाई समर्थन गरेको थियो । उपनिर्वाचनमा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी पार्टीसँग नजिकिँदै गएको एमालेले वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा पनि अहिलेसम्म स्पष्ट लिंग नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति एमाले नरम देखिएको थियो । ती दुई पार्टीलाई प्रयोग गरेर पुष्पकमल दाहाल नेतृत्व सरकारमा आफ्नो बार्गेनिङ पावर एमाले अध्यक्ष केपी ओलीले बढाउँदै आएका थिए । त्यसैले एमाले अब न राजावादी, न कम्युनिस्ट पार्टी र न लोकतन्त्रवादी केही बाँकी नभएर अवसरवादीको झुन्ड जस्तो मात्र बन्न थालेको आलोचकहरूले बताउन थालेका छन् ।
प्रतिक्रिया