देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लक्ष्मी महतो कोइरीको विषयले सभामुख सकसमा, संसद बैठक स्थगित

देशान्तर

सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरु नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद बैठक स्थगित गर्नुपरेको छ ।

१० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे ।

यसपछि रास्वपाका रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको बताउँदै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए । एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको बताए ।

तर, सभामुख घिमिरेले लक्ष्मी महतो कोइरी ‘बिरामी’ भएर बैठक अनुपस्थित भएको रेकर्डबाट हटाउन रुलिङ गर्न मानेनन् । यसपछि सांसदहरुले उठेर विरोध जनाइरहे । सभामुख घिमिरेले पटक पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै बस्न आग्रह गरे । तर, सांसदहरु बस्न मानेनन् । यसपछि सभामुख घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अदालतले फौजदारी अभियोगमा लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरीले उनलाई खोजिरहेको बताउँदै आएको छ ।