काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा आएका केही अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै पेस भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले बाहिर हल्ला चलेजस्तो अर्थतन्त्र धेरै खराबको अवस्था नरहेको तर अर्थतन्त्रमा आएका केही अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशील रहेको बताए ।
तरलता अभावका कारण ब्याजदर बढ्नु, पुँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको महतले बताए । उनले अर्थतन्त्रमा देखिएका संरचनात्मक समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाए ।
अर्थतन्त्रमा देखिएका समस्याहरु समाधानका लािग यसअघिदेखि नै सरकारको तर्फबाट भूमिका कमजोर देखिएको भन्दै अहिलेको सरकारले यस विषयमा गम्भीर ध्यान दिएको उनले बताए ।
मन्त्री महतले आगामी बजेटमार्फत अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । तलब भत्ता नै खुवाउन नसक्ने अवस्था नरहेको जिकिर गर्दै उनले अहिलको साधारण खर्च पुँजीगत खर्च र राजस्वभन्दा बढी देखिएको यसलाई पनि सुधार गर्नुपर्ने बताए ।
‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो ।
प्रतिक्रिया