देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परराष्ट्रमन्त्रीसँग एनआरएनएको ८ बुँदे माग

देशान्तर

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् ।

उनीहरुले सो भेटमा ८ बुँदे माग पेश गरेका छन् ।

आज भएको भेटमा संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अध्यक्ष कुल आचार्यको नेतृत्वको टोलीले मन्त्री साउदलाई भेट गरी नागरिकता, एनआरएनए नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषय समेटेर मागपत्र पेश गरेको हो ।

संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको भन्दै एनआरएनएले यथाशीघ्र उक्त धारा संशोधन गर्न माग गरेको छ ।

एनआरएनएले गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिन र गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाइ हुने थाइल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्र दिन ऐन संशोधनको माग राखेको छ ।

गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुकबाहेक अन्य देशमा बसोबास गरेका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन र विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न एनआरएनएले माग गरेको छ ।

गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि उनीहरुको माग छ ।

नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैरआवासीय नेपाली नागरिक ९एनआरएनए० कार्डको शुल्क अत्यन्तै महँगो भएको भन्दै एनआरएनएले शुल्क घटाउन माग गरेका छन् ।