देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा आउने जाने भइनै राख्छ


कुनै पनि राजनैतिक पात्रका निमित्त कांग्रेस हुन जति सहज छ त्यतिनै कठिन छ कांग्रेस भइनै राख्न । स्थापनाकालदेखिनै दलसँग साइनो गाँस्ने तथा त्याग गरेको सार्वजनिक गर्नेहरूले निरन्तरता पाइनै राखेको छ ।दल त्याग घोषणा गर्नेमध्ये कति पुनः ‘घर फर्किए’ भन्दै कांग्रेसमा फर्कने पनि छन् ।केहीले सदाका लागि राजनीतिबाट अवकाश पनि लिएका छन् । केही भने विगतमा पञ्चायत प्रवेश गरेको शैलीमा अर्कै दल प्रवेश गर्छन् । अल्पसांखिक चाहिँ नयाँ दल निर्माणतर्फ अग्रसर हुन्छन् ।

नेपाली कांग्रेस दल त्याग्नेमध्ये अधिकांशले दलभित्र आफूले‘उचित स्थान’ पाउन नसकेको सिकायत गर्छन् । आफूले गरेको त्याग, तपस्या, बलिदान आदि, इत्यादिकोदलले कदर नगरेकोे भन्छन् । कोही नेतृत्व पंक्तिको अकर्मव्यता, पक्षपातीव्यवहार, दलभित्रको गुट उपगुट आदिआदिबाट थकित अथवा असन्तुष्ट भएर दल त्यागेको घोषणा गर्छन् । उनीहरूमध्ये केहीले दल सुधारीकरणका निमित्त प्रयास गरेको बखान पनि गर्छन् । त्यस्ता आमुक सत्कार्यको फेहरिस्त प्रस्तुत गर्न भने प्रायः सबैले कञ्जुस्याईं नै गरेको पाइन्छ । पारिवारिक पृष्ठभूमि ‘काला कांग्रेस’लाई अलग राखेर हेर्ने हो भने नेपाली कांग्रेस प्रवेश दुई कारणहरू प्रथम आस्था तथा दोस्रो आशाले भन्ने देखा पर्छ ।

आस्थाको कारण

लोकतन्त्र विशेषगरी समतामूलक समाज, कानुनी राज्यको अवधारणाको शासन प्रणाली तथा सुशासनको चाहना राख्नेका निमित्त नेपाली कांग्रेस पार्टी राजनैतिक गन्तव्य हुँदै आएको छ । दल सदस्यता ग्रहण नगरेका तर दलमा सक्रिय हुने तथा समर्थक मात्रै हुनेको संख्या पनि ठूलैछ । नेपाली कांग्रेससँग आस्थाकै कारणले साइनो गाँस्नेबीच पाइने समान चारित्रिक गुण भनेको दलबाट लाभ प्राप्त गर्न लालायित हुने भन्दा दललाई योगदान गर्न अग्रसर हुने हुटहुटी हो ।कांग्रेसदल सबल तथा सशक्त भयो भने देशमा लोकतन्त्र हाबी हुन्छ । देशको समुन्नतिका निमित्त लोकतान्त्रिक पद्धति अनिवार्य छ जस्ता धारणाबाट यो समूह नेपाली कांग्रेसप्रति समर्पित हुन्छन् ।

आशाको कारण

कांग्रेस दलसँग साइनो गाँस्दा हुने लाभहरूलाई मध्यनजर गरेर दल प्रवेश गरेकालाई ‘आशाको कारण’ भन्ने मान्यता पंक्तिकारको छ । यस समूहका निमित्त कांग्रेसको आदर्श, सिद्धान्त, मूल्यमान्यता तथा अख्तियार गर्ने नीति आदि विषय ‘छु मतलव’ हुन्छ । यस्ता विषयवस्तुसँग उनीहरू सरोकार राख्दैनन् । दलको माध्यमबाट आफ्नो तथा आफ्नाजनको स्वार्थ हितरक्षा तथा स्वार्थपूर्ति गर्ने हो । उक्त उद्देश्य प्राप्तिका निमित्त नेपाली कांग्रेस कति उपयोगी हुन्छ त्यही आधारमा उनीहरूको साइनो दलसँग गाँसिराख्छ ।जुन दिन उक्त अभीष्ट पूर्ति भएको महसुस हुँदैन तिनले दल त्याग गर्छन् ।

किन दल त्याग गर्छन्?

राणाकालीन अवस्थामा (२००७ क्रान्तिपूर्व) आशाकै कारणले दल त्याग्नेहरू दुई खेमामा थिए । १) सशस्त्रक्रान्तिकारी गर्नु हुँदैन भन्ने मान्यता राख्ने तथा२)क्रान्तिकारीसँगै देश गणतन्त्र हुनुपर्छ भन्ने । प्रथम पंक्तिका पात्रहरूले अहिंसात्मक सत्याग्रहको मार्ग त्यागेर हतियार उठाएको विरोधमा दल त्यागे । दोस्रो राणाशासनको अन्तमात्र होइन गणतन्त्रको स्थापना गर्नुपर्छ भन्ने धारणा राख्ने ।पहिलो खेमा राष्ट्रिय कांग्रेसमा समायोजित भए । दोस्रो राजा महेन्द्रको प्रतापमा पञ्च हुन पुगे । क्रान्तिको सफलतापछि दल त्याग्नुको प्रमुख कारण राजाहरू (त्रिभुवन, महेन्द्र तथा वीरेन्द्रको) नजरबाट नेपाली कांग्रेस कसिंगर सावित हुनु थियो ।

दल त्याग्नेले के पाए?

नेपाली कांग्रेस त्यागेपछि लाभ प्राप्त गर्नेहरूको सूची लामै छ । प्रमुख पात्रहरू जस्तै पार्टी सभापति एबं क्रान्तिको प्रमुख डिक्टेटर (मातृकाप्रसाद कोइराला) लाई ८ महिना प्रधानमन्त्री, राजदूत तथा राष्ट्रिय पञ्चायतको सदस्य हुने अवसरहरू मिले । क्रान्तिका निमित्त दोस्रो ठूलो दाता महावीरशमशेरलाई मन्त्रिमण्डलको सदस्यता मिल्यो ।प्रथम महामन्त्री महेन्द्रविक्रम शाहलाई मन्त्री तथा राजदूत पद प्राप्त भयो । डा. तुलसी गिरीलाई घरीघरी प्रधानमन्त्री हुने अवसर मिल्यो ।विश्वबन्धु थापालाई प्रधानमन्त्री पदबाहेक अन्य पद आसीन हुने अवसर । हृषिकेश शाहलाई राजदूत तथा मन्त्री, श्रीभद्र शर्मा तथा परशुनारायण चौधरीलाई मन्त्री नियुक्त हुने अवसर । तीन दशक लामो पञ्चायती कालखण्डमा धेरै कांग्रेस नेता, कार्यकर्ता दलको भत्र्सना गर्दै पञ्चायतमा प्रवेश गरेका थिए । उनीहरूमध्ये कोही राष्ट्रिय पञ्चायतको अध्यक्ष भए भने केही गाउँ पञ्चायतमै सीमित रहे । मन्त्री पद तथा अञ्चालाधीश पद टक्र्याउनेमध्ये पनि प्रतिबन्धित दल कांग्रेस त्याग्नेको संख्या सानो थिएन ।

दलमा योग्यताको कदर

एकछत्र नेपाली कांग्रेसलाई नेतृत्व गर्ने तथा हालको दिनसम्म सबैभन्दा लोकप्रिय नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लाई दलको माध्यमबाट देशको उन्नति गर्नुपर्छ भन्ने थियो ।उहाँको एउटा दुर्गुण चाहिँप्रभावशाली व्यक्तित्वभएका युवालाई भेट्दा साथै प्रभावित भइहाल्ने । सम्भावना भएका मेधावी व्यक्तिलाई दलमा ससम्मान स्थान दिन उहाँ कञ्जुस्याइँ पटक्कै गर्नु हुँदैनथ्यो ।विडम्बना उहाँलाई तिनैले आजीवन धोखा दिए ।बीपीलाई धोखा दिने प्रबुद्ध व्यक्तिहरूको सूची लामो छ ।स्थान अभावको कारणले गर्दा यस लेखमा समावेश गरेको छैन ।

प्रथम जनआन्दोलनपछिको कालखण्डमा हाबी भएको नेतृत्वले विगतमा खोजीखोजी नेपाली कांग्रेसलाई सखाप पार्न अग्रसर पञ्च तथा तिनका मतियारका निमित्त दल प्रवेशद्वार खुला राख्यो । सत्ता प्रलोभनमा चुर्लुम्म डुबेको नेतृत्वका निमित्त आवश्यकता केवल सत्ताको भर्‍याङ उक्लन सहयोगी को थियो ।सम्भावना बोकेका भुक्तभोगी पञ्चहरू‘प्रतिभाशाली’ ठहरिए । जसले दलमा घात, अन्तरघात तथा भ्रष्टाचारको संस्कृितलाई प्रवेश गराए । पञ्चायत प्रणालीमा रहेका विकृति तथा विसंगतिलाई नेपाली कांग्रेस दलभित्र नवसंस्कारको रूपमा फैलायो । नेतृत्वका लागि दलको व्यवस्थापन भनेको कार्यकर्तालाई ‘पद’ सुम्पनु समान रह्यो । धेरै कार्यकर्ता थोरै पद त्यसकारण यो भ्यागुतोको तौल सिद्ध भयो । देशवासीलाई सुशासनको अनुभूति दिनेतर्फ भन्दा नेतृत्वको ध्याउन्नमा तिनै प्रतिभाहरूको सहयोगमा सत्ता हत्याउने खेलतर्फ केन्द्रित रह्यो ।‘सुकिला मुकिला’को जगजगी भएको दल आस्थाले कांग्रेस हुनेलाई विस्थापित गर्न अग्रसर रह्यो ।

अर्कोतर्फ प्रथम तथा दोस्रो जनआन्दोलनको सफलतासँगै देश सञ्चालनका प्रत्येकको प्रत्येक अंगहरू चरम राजनैतिक कारण हुन पुग्यो । प्रतिभा तथा दक्षता भएकाहरूको लागि राजनैतिक संलग्नता अनिवार्य हुने अवस्था हाबी भएको छ । बिना राजनैतिक संरक्षण विद्यालयका शिक्षकदेखि सार्वजनिक, सुरक्षा अंगका तथा न्यायालयका पदाधिकारीहरू आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्था देशमा हाबी भयो अझै चुरिँदैछ । विद्यमान परिस्थितिमा राजनीतितर्फ जो कोही को पनि आकर्षण बढ्नुलाई अस्वाभाविक मान्न सकिँदैन । तर पनि राजनैतिक जीवनतर्फ आकर्षित हुनेहरूदुई प्रकारका हुने गर्छन् । प्रथम देशमा व्याप्त भएको निराशाजनक राजनैतिक माहोललाई परिवर्तन गरेर राष्ट्रलाई गन्तब्यउन्मुख तुल्याउन कटिबद्ध भएको हुनाले । दोस्रो राजनीति प्रवेशपछि यस मौलाउँदो ‘उद्योग’को सहभागी हुँदा पाइने सम्भावित लाभको कारणले गर्दा ।

प्रथम कोटीका दक्ष तथा सक्षम पात्रहरूका निमित्त एरिस्टोटलको भनाइ ‘योग्य नागरिकले आफूलाई राजनीतिबाट अलग राख्यो भने उसलाईअयोग्यले शासन गर्छ’ भन्ने भनाइलाई आत्मसात् गर्नु । असक्षम तथा अयोग्य नेतृत्वले देशलाई बर्बादीतर्फ उन्मुख गर्दै गरेको ‘टुलुटुलु हेरेर बस्न’ कठिन हुने भएको हुनाले गर्दा । सार्वजनिक जीवनको प्रत्येक आयाम राजनीतीकरण भएको अवस्थामा राजनीतिबाट पर रहँदा समाजमा गर्न सक्ने योगदानबाट वञ्चित रहनु पर्दा राजनीतितर्फ आकर्षण बढ्नु स्वाभाविक हुन्छ । त्यस्ता (शिक्षित तथा दक्ष व्यक्ति) को रोजाइमा नेपाली कांग्रेस पर्नु स्वाभाविक हो । त्यसकारण उनीहरू आसकै कारणले गर्दा नै हो तर पनि केही गर्ने हेतुले कांग्रेस दल प्रवेश गर्छन् ।

दोस्रो कोटीका निमित्त राजनैतिक संरक्षण बेगर व्यक्तित्व विकासका सम्भावनाको ढोकाहरू थुनिएको अवस्थाले गर्दा राजनीतितर्फ अग्रसरता हुन्छ । देशको दुर्भाग्य यस कोटीमा भने सक्षमभन्दा असक्षमहरूको जमात धेरै हुने गर्छ । आपराधिक पृष्ठभूमिकाको लागि त राजनैतिक ‘भ्यान वाइगन’ छिर्दा उन्मुक्ति नै मिल्ने गर्छ । व्यापारीका निमित्त पनि राजनीतिज्ञलाई‘पाल्नु’भन्दा आफै राजनीतिमा सामेल हँदा बढी किफायत हुन्छ । नवधनाढ्यका निमित्त धनको स्रोत लुकाउन पनि राजनैतिक दलसँग आबद्ध हुँदा फाइदा नै फाइदा हुन्छ ।जुन दलमा प्रवेशका निमित्त न्यून व्यवधान हुन्छ दोस्रो कोटीका महानुभावहरूतिनै दलमा प्रवेश गर्ने हुन् ।

नेपालको संविधान २०७२ ले कुनै पनि राजनीतिमा प्रवेश गरेरराष्ट्र निर्माणप्रति योगदान गर्न सक्ने सक्षम उम्मेदवारको प्रवेशलाई संस्थागत गरिदिएको छ । प्रतिनिधिसभामा समानुपातिकतथा राष्ट्रियसभाको प्रावधानले गर्दा यदि दल नेतृत्वले चाहने हो भने उम्दा सदस्यलाई राजनैतिक स्थान उपलब्ध गर्न कठिन छैन । दुर्भाग्य त्यस्ता स्थानहरू राम्रालाई होइन हाम्राका निमित्त सुरक्षित राख्ने परिपाटी हाबी भएको छ । जसले गर्दा अवसरको खोजीमा रहेका दक्ष पात्रहरूका निमित्त दलमा आबद्ध रहेर सुधार कार्यका निमित्त संघर्ष गर्नुभन्दा सहज लिलामीमा चढेर दल त्याग्नु कल्याण ।

विद्यमान राजनैतिक माहोलमा जोकोही पनि आस्थाले नेपाली कांग्रेसमा प्रवेश गर्छन् तिनका निमित्त यस दललाई सुधार गर्न संघर्ष गर्नुको बिकल्प हुँदैन । दलीय सुधारका निमित्त अग्रसर नहुने तथा नेतृत्वको आशीर्वादमा सुविधा खोज्ने ‘आशाले’कांग्रेस बनेकाको लागि अवस्था निराशाजनक नै छ । त्यसकारण उनीहरू आस्थाले कांग्रेस हुनेले जस्तो गरेर दलसँग आबद्ध हुनुभन्दा दल त्याग गरेर अन्यत्र पाइने अवसरको पछि लाग्छन् ।

झांगिएको हरियो रूख (नेपाली कांग्रेसको प्रतीक) जतिसुकै बुढो देखिए पनि नेपाली समाजमा यसले बलियोसँग जराहरू फैलिएको छ । जतिसुकै ठूलो हुरी बतासले पनि यसलाई सहजै ढालिहाल्न सक्दैन । यस वृक्षलाईअनन्तकालसम्म आस्थाले कांग्रेस हुनेहरूले मलजल गर्दै जिउँदै रहन्छ । अनि जतिञ्जेलसम्म यो वृक्ष रहन्छ त्यतिन्जेल आउने जानेको मेलो भने चलिनै राख्नेछ ।