काठमाडौं । बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन् ।
विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन् ।
आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो । अभियुक्तहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो ।
उनीहरूले वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा विदामा नेपाल आउँदा ज्यान गुमाएका व्यक्तिको परिवारलाई भेटी बिमा रकमका लागि प्रक्रिया सुरू गर्थे ।
कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्थे र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिइरहेका थिए ।
बिमाबापत् कसैले १४ लाख रुपैयाँ पाउने रहेछ भने उनीहरूले ८ लाख जति आफैं राख्ने, बाँकी पैसा मात्र परिवारले दिने गरेको अनुसन्धानबाट खुलेको एसएसपी केसीले जानकारी दिनुभयो । यो गिरोहसँग वैदेशिक रोजगार विभागका एक जना नायब सुब्बाको पनि मिलेमतो देखिएको छ।
विभागका सुब्बा पशुपति अधिकारीले कसको शव कहिले आउँदैछ भन्ने जानकारी गिरोहका सदस्यहरूलाई दिने र त्योबापत् यो गिरोहले एक जनाको शव आउँदा अधिकारीलाई २५ हजार रुपैयाँसम्म पैसा दिने गरेको अनुसन्धानबाट खुलेको छ ।
अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया