देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रमः जारी

देशान्तर

काठमाडौं । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहनुभएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आफ्नो उम्मेदवारी दर्ता गाराउनुभएको छ ।

चितवन २ मा उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताउनुभएको छ ।

उहाँले आफूले यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताउनुभएको छ ।

सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी बन्नुभएको थियो । सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो ।

यसैगरी, जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्ष यादवले समर्थकहरु सहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उहाँले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताउनुभयो । यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो ।

यसैगरी, तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

यो क्षेत्रमा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउने तयारीमा हुनुन्छ ।

यसैगरी, बारा २ को उपनिर्वाचन अन्तरगत सोमबार नागरिक उन्मुक्ति पार्टीका डा.कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनमा रहेपनि नाउपाले छुट्टै उम्मेदपारी दर्ता गराउनुभएको हो ।
उहाँकोे प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहनुभएको छ ।

उहाले १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालय मार्फत मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।
आयोगले आइतबार नै उपनिर्वाचन सम्बन्धि १० बुँदे निर्देशन पनि राजनीतिक दलहरूका लागि जारी गरेको छ ।
उम्मेदवारको मनोनयन गर्न जाँदा दलहरूले उम्मेदवार र समर्थक प्रस्तावकसहित २५ जना भन्दा बढीको समूह लैजान नपाइने र बाजागाजा वा झाँकी प्रदर्शन गर्न समेत नपाइने आयोगले जनाएको छ ।
त्यस्तै, उम्मेदवारको पहिचान, लोगो, टिसर्ट र ज्याकेट समेत लगाउन नपाइने आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।