काठमाडौं । काठमाडौंमा बन्ने बाहिरी चक्रपथको पहिलो खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । आधुनिक र सुविधासम्पन्न चक्रपथ निर्माण त्योसँगै विकसित घडेरी विकास गरी जग्गा फिर्ता गर्ने गरी अधिग्रहण प्रक्रिया सुरु भएको हो ।
जग्गा प्राप्तिको प्रक्रियामा सरकारले कुनै रकम खर्चिने छैन । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको बाहिरी चक्रपथ आयोजनाले बिहीबार जग्गा अधिग्रहणका लागि चन्द्रगिरी र दक्षिणकली नगरपालिकामा सूचना टाँसेको छ ।
चोभारदेखि भत्केकोपाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्म पहिचान भएका जग्गाको अधिग्रहण थाल्न प्रक्रिया सुरु भएको हो । ३ दिनसम्म चक्रपथमा जग्गा परेका स्थानीयको गुनासो सुनुवाई गरिनेछ ।
आइतबार कित्ता खोलेर जग्गा अधिग्रहणको विवाद टुंगिएको रिपोर्ट आयोजनाले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेपछि प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गर्ने आयोजनाका निमित्त प्रमुख धु्रब सापकोटाले बताए ।
त्यसको १५ दिनभित्र अधिग्रहणको प्रक्रिया टुंगिएर यो खण्डमा पर्ने सबै जग्गा सरकारको नाममा आउनेछ । बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ ।
६.६ किलोमिटर पहिलो खण्डको डीपीआर पनि स्वीकृत भइसकेको छ । अब जग्गा अधिग्रहणको प्रक्रिया सक्नासाथ आगामी आर्थिक वर्षको सुरुवातबाटै ट््रयाक खोल्ने काम सुरु गर्ने सापकोटाले बताए ।
पहिलो खण्डमा जग्गा प्राप्तीको प्रक्रियामा स्थानीयसँग सहमति जुटिसकेकाले अब काम सुरु गर्न समस्या नहुने आयोजनाको दावी छ ।
चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अधिग्रहणपछि यो खण्डमा ७ हजार ८ सय रोपनी जग्गा सरकारको नाममा आउनेछ ।
यसमध्ये झण्डै २५ सय रोपनी जग्गा सडककै भागमा पर्नेछ भने काँकी जमिनलाई सरकारले ब्यवस्थित आवास क्षेत्रका रुपमा विकास गर्नेछ ।
प्रतिक्रिया