देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिन क्षेत्रको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

देशान्तर

वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता हुँदैछ । रिक्त रहेका प्रतिनिधि सभा क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न जाँदा बाजागाजासहित नजान र २५ जनाभन्दा धेरै नलैजान निर्देशन दिएको छ । सत्ता गठबन्धनले तीनै क्षेत्रमा साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । माओवादीलगायत सत्ता गठबन्धनमा रहेका अधिकांश दलले यी उम्मेदवारलाई नै सहयोग गर्ने तयारी गरेका छन्।

त्यस्तै नेकपा एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने भएको छ।

सत्ता गठबन्धनबाट बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्ने तयारी गर्नु भएको छ । लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि जसपा अध्यक्ष यादवलाई नै समर्थन गर्ने बताउनु भएको छ । बारा २ मा नेकपा एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन । बारामा एमाले नेता पुरूषोत्तम पौडेल आकांक्षीको रुपमा रहनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीले बारा २ मा शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ। शिवचन्द्र केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गर्नु भएको थियो । चुनाव प्रचारका लागि जनमत अध्यक्ष सिके राउत केही दिनदेखि बारामै रहनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ १ मा शोभा गुरूङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। अरू दलहरू तथा स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको थियो । उहाँ गत फागुन २५ मा राष्ट्रपति बन्नु भएको छ ।

चितवन २ मा रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएपनि नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएको थियो । बारा २ मा तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव निर्वाचित हुनु भएकोमा गत चैत ३ मा उपराष्ट्रपति निर्वाचित हुनु भएको थियो । यि तिन वटै निर्वाचन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।