काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपति दुबै आफ्नै पार्टीले पाउनु पर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानका कारण संघीय सरकारदेखि प्रदेशससम्मका सरकार गुमाएको केही महिना पनि बितेको छैन । बल्लतल्ल विगतको गल्ती स्वीकार गर्दै अघि बढ्न तत्पर हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । तर, देउवाका कारण प्रदेशमा गुमेका सरकार अहिले फिर्ता हुन्छ भन्ने कुनै टुंगो छैन भने प्रतिनिधिसभा र प्रदेशसभाका सभामुख र उपसभामुख कांग्रेसले गुमाइसकेको छ ।
गल्ती सच्याउने देउवाको प्रतिबद्धताका कारण गुम्नै लागेको राष्ट्रपति आफ्नो पक्षमा ल्याउन सफल भएको छ कांग्रेस । तर, अहिले पनि सभापति देउवा आफूलाई पार्टीको साझा नेताका रूपमा प्रस्तुत हुनुको साटो आफ्ना भजनमण्डलीहरूलाई नै सरकारसहितका महत्वपूर्ण ठाउँ दिन लागिपरेका छन् । त्यसले कांग्रेस सभापतिमा सुधारको कुनै गुञ्जायस नभएको देखिएको छ भने पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । दाहाल नेतृत्व सरकारमा आफू निकटका चार नेतालाई पठाएका उनले इतर पक्षको अस्तित्वलाई स्विकार गर्नसमेत तयार देखिएका छैनन् ।
दाहाल नेतृत्व सरकारमा कांग्रेस भागमा आठ मन्त्रालय परेको छ । त्यसमध्ये तीन मन्त्रालय इतर समूहले मागेको छ । तर, देउवाले दुई मन्त्रालय मात्र दिने अडान राखेपछि शेखर कोइराला नेतृत्वको इतर पक्ष तत्काल सरकारमा सहभागी नहुने अडानमा छन् । देउवाले इतर पक्षलाई परराष्ट्र र खेलकुद मन्त्रालय दिन तयार भए पनि तीनवटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान इतर पक्षले राखेपछि देउवाले चार जनाको मात्रै नाम प्रधानमन्त्रीलाई बुुझाएका थिए । इतर पक्षबाट धनराज गुुरुङ र डिगबहादुर लिम्बूको नाम मन्त्री हुनेको सूचीमा छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा प्रकाशशरण महत, रमेश रिजाल तथा सीता गुुरुङ सरकारमा सहभागी भएका छन् र उनीहरू सबै सभापति देउवासँग निकट मानिन्छन् ।
पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र पूर्वमहामन्त्री शशांक कोइराला तथा कृष्णप्रसाद सिटौलाको कोटाबाट कसैलाई पठाएका छैनन् भने इतर पक्षलाई सहभागी गराएर बाँकी रहने दुई मन्त्रालयमा एनपी साउद र मोहन बस्नेतलाई पठाउने उनको तयारी छ । विगतमा धोका पाएका देउवाले अब विगतको गल्तीलाई सच्याएर गठबन्धनभित्र मात्र होइन पार्टीभित्रको सन्तुलन कायम गरेर जाने धेरैको अपेक्षा र विश्लेषण गरे पनि उनले अझै नचेतेको भन्दै पार्टीका नेता तथा कार्यकर्ता फेरि उनको आलोचनामा उत्रिएका छन् । यसले पार्टीभित्र मात्र होइन भजन मण्डलीहरूको प्रभावमा पर्दा कतै गठबन्धन पनि धरापमा पर्ने त होइन भन्ने आशंका कांग्रेसकै नेताहरूले गर्न थालेका छन् ।
प्रतिक्रिया