देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

देशान्तर

काठमाडौं । तनहुँ क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

जिल्ला समन्वय समिति तनहँुको परिसरमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आर्चाय खटिनुभएको छ। तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ ।

कांग्रेसले बलियो पकडको रुपमा लिएको क्षेत्र न.१ मा केन्द्रीय सदस्य गोविन्द भट्राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांगे्रस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बनुभएको छ ।
नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यसमितिले पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरिसकेको छ ।

मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पॉच हजार मतान्तरले विजयी हुनुभएको थियो । पौडेलले २५ हजार ३१८ मत ल्याउनुभएको थियो । यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उहाँले १९ हजार ९४३ मत ल्याउनुभएको थियो ।

यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याउजुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत ल्याउनुभएको थियो ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३ सय ५ मतदाताले भोट हाल्न पाउने छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएका छन् ।