काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौंमा आई आन्दोलनरत पीडितहरुको न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटर ब्याज पीडित सिरहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौंको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै मिटर उनीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको हो ।
उहाँले पीडितहरुको न्यायका लागि स्थानीय सरकार र केन्द्रीय नेतृत्वबाट पहल हुन नसकेको बताउनुभयो ।
समय माग गर्दै बोलेका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटर ब्याज पीडितहरुको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरुलाई न्याय दिन आग्रह गर्नुधयो । उहाँले उनीहरूको समस्या बुझ्न जाँदा आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुव्र्यवहार गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।
यसैगरी जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले मिटर ब्याज पीडितहरु पैदल हिँडेर अहिले राजधानी आई आफ्नो पीडा पोखिरहेको उल्लेख गर्दै उनीहरूको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नुपर्ने राय प्रस्तुत गर्नुभयो ।
आम जनता पार्टीका प्रभु साहले मिटरब्याज पीडितहरुको आन्दोलन चर्किरहेकाले उनीहरुको समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारलाई रुलिङको माग गर्नुभयो ।
उहाँले बैंकले ऋण उपलब्ध नगराउँदा नागरिक चर्को ब्याजदरमा मिटर ब्याजबाट ऋण लिन बाध्य भएको बताउँदै कर्जा प्रवाहका विषयमा लघुवित्त र बैंकहरुमा विद्यमान बेथितिको निराकरणका लागि ठोष कानुनको आवश्यकता रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटर ब्याजपीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै सांसद पौडेलले मिटर ब्याजलाई गम्भीर अपराधका रुपमा हेर्न माग गर्नुभएको छ ।
प्रतिक्रिया