राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको प्रतिमा अनावरण गरेका छन् । जोशीको दोस्रो वार्षिक पुण्य तिथीको अवसर पारेर उनको गृहक्षेत्र याट्खा टोलमा राष्ट्रपति पौडेलले प्रतिमा अनावरण गरेका हुन् ।
जोशी पत्नि तथा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीको पहलमा शलिक निर्माण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ‘आफ्नो राजनीतिक विचार र आस्थाप्रति सँंधै इमान्दार र निष्ठावान भई त्यसैका माध्यमबाट नेपाली जनता, समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहींको रुपमा काम गर्दा गर्दै असामयिक मृत्युवरण गर्नुभएका पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति म यस घडीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ भनेका थिए ।
जोशीको प्रतिमा निर्माणले देश र जनताका लागि पुर्याउनुभएको योगदानलाई सदैव जीवन्त राख्ने विश्वास व्यक्त गर्दै असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरुलाई सत्कार्य गर्न सँंधै प्रेरित गर्ने बताए ।
कार्यक्रममा राष्ट्रपति पौडेलले ‘नविन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र नभइ आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएको स्मरण पनि गरेका थिए ।
पछिल्लो समय समाजमा र खासगरी राजनीतिमा सदाचारको खडेरी पर्न थालेको हो कि भनेर चिन्ता प्रकट भइरहँंदा नविन्द्रले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न नदिएर आफूलाई अब्बल सावित गरेको पनि राष्ट्रपति पौडेलले चर्चा गरेका थिए ।
सरल, शालीन, मिलनसार, सहयोगी कुशल राजनीतिज्ञको छवि उनको पहिचान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नविन्द्र यही दर्शनबाट प्रभावित थिए ।’
प्रतिक्रिया