देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिसँगै कृषि कर्म

देशान्तर

पाँचथर । फालेलुङ गाउँपालिका– ५ का तिलविक्रम चेम्जोङ राजनीतिसँगै कृषि पेसामा पनि छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । उनी कृषि पेसाबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्दै आएका छन ।

चेम्जोङले मौरीपालनबाट वार्षिक रु तीन लाख, अलैँची नर्सरीबाट वार्षिक रु १५ लाख, अलैँची बिक्रीबाट रु १५ लाख, माछापालनबाट वार्षिक रु एक लाख, किबी फलबाट रु एक लाख र गाईपालनबाट वार्षिक रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

चेम्जोङ सानै उमेरदेखि राजनीतिप्रति चासो राख्थ्ये । काँग्रेस नेता एवम् २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा भूविक्रम नेम्वाङको सामिप्यतामा रहनुभएका चेम्जोङले पौवासारताप माध्यमिक विद्यालयमा पढ्दै गर्दा २०४५ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रा थाले ।

विसं २०४८ मा चेम्जोङले विद्यार्थी सङ्घको जिल्ला सदस्य, २०५१ मा नेपाल तरुण दलको जिल्ला उपाध्यक्ष र २०५४ सालमा तरुण दलकै केन्द्रीय प्रशिक्षण विभागमा रहेर काम गरे । विसं २०६७ मा पाँचथरको निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेर काम गरे । विसं २०७० पछि उहाँले काँग्रेसबाट राजीनामा दिए । अहिले उहाँ सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय परिषद् सदस्य हुन् ।

“राजनीति भन्दा कृषि पेसाबाट बढी आनन्द आउँछ,” चेम्जोङले भने– “पहिला आफू आत्मनिर्भर हुनु जरुरी छ ।” उनले अहिले गाउँका सातजनालाई रोजगारी समेत दिएका छन् । स्वदेशमै मिहेनत गर्न सके विदेश गइराख्नु नपर्ने उनी बताउछन् ।

उनले कृषि पेसाबाट मनग्य आम्दानी गरेको देखेर गाउँका अन्य कृषक समेत मौरीपालन र अलैँचीखेतीतर्फ आकर्षित बनेका छन् ।
“कृषि पेसा र राजनीतिलाई सँगसँगै अगाडि बढाउने योजना छ,” चेम्जोङले भने ।