देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

स्वागतयोग्य सुरुआत

देशान्तर

लोकतन्त्रमा राष्ट्रपति सबैभन्दा ठूलो पदमात्र होइन मार्गदर्शन पनि हो । संविधानले उक्त पदलाई संविधानको रक्षा र पालना गर्ने जिम्मेदारी दिएको छ भने समाज र राष्ट्रले उनीबाट त्योभन्दा बढी आशा र अपेक्षा गरेको हुन्छ ।  तसर्थ राष्ट्रपतिले संविधानले निर्धारित गरेको जिम्मेदारी पालना गर्नमा मात्र सीमित नरहेर आफ्नो आचरण र व्यवहार, जनताको चाहना र भावना अनुरूप तथा सबैले अनुसरण गर्नुपर्ने उत्प्रेरक मूल्य मान्यताबाट निर्दिष्ट गर्नु पर्दछ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको लोकतान्त्रिक मूल्य मान्यता र संविधानप्रतिको अविचलित आस्था र विश्वास जगजाहेर नै छ । त्यसलाई उनले उक्त पद प्राप्तिपछि कसरी व्यवहारमा उतार्छन् भनेर सबैले उत्सुकतापूर्वक हेरिरहेको अवस्थामा प्रारम्भमै उनले यसअघिकी राष्ट्रपतिबाट भएका भद्दा र अशोभनीय र  जनआकांक्षा विपरीतका शैली र कार्यलाई अनुसरण नगरी सहज र सरल व्यवहार अपनाउने कामको सुरुआत गर्नु स्वागतयोग्य छ ।

फागुन २५ गते संसद् भवन नयाँबानेश्वरमा राष्ट्रपति चयनका लागि चुनाव हुँदै गर्दा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले भनेका थिए ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरूले देख्न पाउनुहुन्छ, यदि म राष्ट्रपति निर्वाचित भए भनें ।’ संविधानको संरक्षक भएर काम गर्ने र विगतका राष्ट्रपतिबाट भएका गल्ती आफूले नगर्ने प्रतिबद्धता पौडेलले व्यक्त गरेका थिए । राष्ट्रिय राजनीतिका शीर्ष नेता पौडेल सोही दिन भारी मतभारसहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भए ।

राष्ट्रपति निर्वाचित भएलगत्तै पाका नेता पौडेलले आफ्नो बोलीलाई व्यवहारमा परिणत गर्न लागेका छन् । राजनीति जनताको सेवाका लागि हो र जननिर्वाचित प्रतिनिधि जनताका सेवक हुन् भन्ने तथ्य राम्ररी आत्मसात् गरेका पौडेलले शीतल निवासभित्र र बाहिर आफ्ना व्यवहार नागरिकमैत्री बनाउन थालेका छन् । फागुन २९ मा शपथ लिएर कार्यभार सम्हालेका पौडेलले आफ्ना कारणले जनतालाई बाधा नपुगोस् भन्नेमा मुख्य हेक्का राख्न थालेका छन् । राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलो पटक गत शनिबार शीतल निवास बाहिर निस्केर वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरे । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । यसअघिका राष्ट्रपति पनि कुमारीको दर्शन गर्न गएका थिए । पौडेल पनि गए । तर, अघिल्ला राष्ट्रपतिको यात्राभन्दा पौडेलको यात्रा भने फरक थियो । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली गरिएन, नागरिकलाई कहीँ पनि रोकिएन ।

राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन । वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । अगुवा र पछुवा गाडी मात्रै लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तोसमेत पाएनन् । कतिपयले त राष्ट्रपति त्यसरी आएको भनेर पत्याउन पनि सकिरहेका थिएनन् । बिनाकारकेड गएर पौडेलले अन्य राष्ट्रपतिले भने फरक सन्देशसमेत दिए । यतिमात्रै होइन, चैत ७ मा सैनिक मञ्च टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा जाँदा पनि पौडेलका लागि सडक खाली गरिएन । पहिले जसरी कारकेड  प्रयोग गरिएन । सामान्य सुरक्षामा नै पौडेल टुँडिखेल गए, समारोहमा सहभागी भएर फर्किए । यी कुनै पनि कार्यक्रममा पौडेलको यात्रामा जनताले सास्ती भोग्नु परेन । सडक खाली गर्नु परेन । सडकमा जाम भएन ।

राष्ट्रपति पौडेलले आफ्नो यात्रालाई ‘सवारी’ नभन्न पनि आफ्नो सचिवालय र सुरक्षा निकायलाई आग्रह गरेका छन् । उनकै आग्रहअनुसार गृह मन्त्रालयले भीभीआईपी सुरक्षा कार्यविधि परिमार्जन गर्दै छ । कार्यविधि परिमार्जनका लागि गृह मन्त्रालयले गठन गरेको समितिले पनि राष्ट्रपतिसँग छलफल गरिसकेको छ । उनकै आग्रहमा राष्ट्रपतिको यात्रालाई सवारी नभनेर आवागमन वा आवतजावत बनाउने तयारी गरिएको छ ।

खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यवहारबाट जनताले नै सास्ती खेप्नु परेपछि जनस्तरबाट नै राष्ट्रपतिको व्यवहार परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको छ । भण्डारीको तामझामपूर्ण सवारीकै कारण नागरिकले अनाहकमा समस्या भोग्नु पर्ने, घण्टौंसम्म जाममा बस्नुपर्ने, लामो समय सडक नै खाली गर्नुपर्ने, सुरक्षाको नाममा अचाक्ली हुने लगायतका कारणले उनी आलोचित थिइन् । राजनीतिक रूपमा भण्डारी पटकपटक आलोचनामा परिन् । दलगत र व्यक्ति विशेषसँगको निकटताका आधारमा निर्णय लिने विषयले पनि भण्डारी आलोचित भइन् । राजनीतिक र व्यावहारिक दुवै कारणले उनी आलोचित भएपछि पौडेलले आफ्नो कार्यशैली र व्यवहार परिवर्तनको संकेत गरेका हुन् ।

संविधानअनुसार राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन । मन्त्रिपरिषद्को सम्मतिमा काम गर्ने उनको संवैधानिक अधिकार हो । त्योभन्दा माथि राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने र संविधानको रक्षा तथा पालना गर्ने दायित्व दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहना र संविधानको मर्मअनुसार चल्ने संकेत गरेका छन् । यदि उनले यसलाई आफ्नो कार्यकालभर अवलम्बन गरे भने गणतन्त्रप्रति जनताको विश्वास अझ बढ्नेछ भने राष्ट्रपतिमाथिको सम्मान पनि थपिनेछ ।