काठमाडौं – प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त हुनुभएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताउनुभएको छ ।
सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल हुनुभएको छ । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा हुनुहुन्थ्यो । प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पार्नुभएको हो ।
कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ ।
वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा हुनुभएको हो । चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।
आईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा हुनुहुन्थ्ये । ०७९ वैशाख १८ मा सरकारले वरीयता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाउनुभएको हो ।
प्रतिक्रिया