एजेन्सी । अमेरिकी सेनाले पूर्वी सिरियामा इरान समर्थित समूहविरुद्ध हवाइ आक्रमण गरेको छ ।
उत्तरपूर्वी सिरियाको हसकेह नजिक रहेको अमेरिकी नेतृत्वको गठबन्धनको सैन्य अखडामा स्थानीय समयअनुसार दिउँसोको १ बजेर ३८ मिनेटमा आक्रमण भएको थियो । त्यसकै बदलामा सोही दिन राति हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको हो ।
बिहीबार अमेरिकी नेतृत्वको गठबन्धनविरुद्ध भएको ड्रोन हमलामा एक कन्ट्र्याक्टरको ज्यान गएको थियो भने पाँच अमेरिकी सेना र अन्य कन्ट्र्याक्टर घाइते भएका थिए ।
अमेरिकी गुप्तचरले आक्रमण गर्न प्रयोग गरिएको ड्रोन इरानी भएको पत्ता लगाएको छ । यसले पहिलेदेखि नै तनावपूर्ण रहेको वाशिंगटन र तेहरानबीचको सम्बन्धमा झनैं बिग्रिने संकेत गरेको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग संगठित समूह आक्रमणको निशाना भएको बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा आक्रमण गरिएको बताएका छन् ।
सन् २०१५ मा आईएसआईएसविरुद्ध लड्न अमेरिकी सेना सिरिया पसेको थियो । सिरियामा करिब ९०० अमेरिकी सेना र देशको उत्तर, दक्षिण र पूर्वमा थुप्रै बढी नीजि सैनिक वा कन्ट्रयक्टर रहेको बताइएको छ ।
सिरियामा ड्रोन आक्रमणका घटनाहरू हुने गरेको भएपनि मृत्यु र अमेरिकी सेना घाइते हुने घटना भने दुर्लभ नै हुन् । संयुक्त राष्ट्र संघीय सिरियाली मिसन र इरानले यो आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया