काठमाडौं– राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार बिहान सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।
गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।
२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ ।
त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।
प्रतिक्रिया