काठमाडौं– पूर्व–पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत नवलपरासी पूर्वको चालिसकिलोमा सडक अवरुद्ध भएको छ । सोमबार परेको अविरल वर्षाका कारण राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन भास्सिएकाले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
वर्षासँगकै बाढीले मध्यविन्दु नगरपालिका–७ मा डाइभर्सन र कावासोती नगरपालिका–१६ चालिसकिलोमा रहेको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ । डाइभर्सन बगाएको ठाउँमा डोजर परिचालन गरी सम्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा सयौं सवारीसाधनहरु अलपत्र परेका छन् ।
बाटो खुल्न अझै केही समय लाग्ने भएकाले पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । पूर्वबाट पश्चिम जाने सवारीहरुले डण्डाबाट कोल्हुवा हुँदै अरुणखोलाको रुट प्रयोग गर्न प्रहरीको आग्रह छ ।
यस्तै, पश्चिमबाट पूर्व जाने सवारीहरुले चोरमारबाट हुप्सेकोट हुँदै डण्डा निस्कने रुटको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया